गौशाला बजारमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ। स्थानीय माछा बजारमा आज एकाबिहानै एक २५ वर्षीय युवकको शव फेला परेको हो।
शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेका प्रहरीले मुचुल्का उठाइ शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
प्रारम्भिक अनुसन्धानको क्रममा उक्त शव सर्लाहीको हरिपुर्वा नगरपालिका–९, मिर्चिया बस्ने २५ वर्षीय रामानन्द बैठा रहेको बुझिएको छ। स्थानीयको भनाइ अनुसार मृतक बैठा करिब ३–४ वर्षदेखि गौशालाका विभिन्न होटलमा काम गर्दै जीविकोपार्जन गर्दै आएका थिए।
उनी केही समय बिरामी रहेको र सोही क्रममा गए राति उनको मृत्यु भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन्।
प्रकाशित: ८ कार्तिक २०८२ १२:४३ शनिबार