समाज

प्रकृति, संस्कृति र इतिहासले सम्पन्न मकवानपुरका पर्यटकीय गन्तव्य ओझेलमा

प्रकृति, संस्कृति र ऐतिहासिक सम्पदाका दृष्टिले सम्पन्न जिल्ला हो मकवानपुर। प्रकृति, संस्कृति र इतिहासलाई पर्यटकीय सम्पदाका रूपमा जोड्न निरन्तर प्रयास भइरहे पनि यहाँका गन्तव्यमा अपेक्षित पर्यटक भित्र्याउन भने सकिएको छैन। 

बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौँडासहित जिल्लाका १० वटै पालिकामा विभिन्न पर्यटकीय गन्तव्य छन्। थुप्रै गन्तव्य रहेको जिल्लामा यसअघि २०७६ सालमा १० वटै पालिकाका तीन–तीनवटा गन्तव्यलाई पर्यटकीय स्थलका रूपमा पहिचान गरी निर्धारण गरिएको थियो। 

यसक्रममा हेटौँडा उपमहानगरपालिकाका सहिद स्मारक, चुरियास्थित सुरुङमार्ग र चुरियामाई मन्दिर तथा गुम्बाडाँडास्थित मूर्तिकला बगैँचालाई पर्यटकीय गन्तव्यका रूपमा छनोट गरिएको थियो। त्यतिबेला थाहा नगरपालिकाका दामन, सिमभञ्ज्याङ, चित्लाङ र राष्ट्रिय विभूति पार्कलाई पर्यटकीय गन्तव्यमा समेटिएको थियो भने मनहरी गाउँपालिकाका शान्ति पार्क, रमौली जङ्गल सफारी र बनकरिया होमस्टे छनोट भएका थिए। 

त्यस्तै मकवानपुरगढी गाउँपालिकाका सेनकालीन इतिहासको साक्षी मकवानपुरगढी दरबार क्षेत्र, मनकामना मन्दिर र सहिद रुद्रबाटिका पार्क पर्यटकीय गन्तव्यमा समेटिएका थिए। 

भीमफेदी गाउँपालिकाका ऐतिहासिक चिसापानी गढी, हात्तीसार र त्रिखण्डी मन्दिर क्षेत्रका साथै राक्सिराङ गाउँपालिकाका पाइराङ भीम्बुङ, जलपरी झरना, चमेरे गुफा र चैनपुरस्थित चेपाङ सङ्ग्रहालयलाई पर्यटकीय गन्तव्यका रूपमा छनोट गरिएको थियो।

इन्द्रसरोवर गाउँपालिकास्थित इन्द्रसरोवर ताल, भालेश्वर मन्दिर र मदन भण्डारी फाखेल मैत्रीपार्क तथा चौकोट देवी मन्दिरलाई पर्यटकीय गन्तव्यमा समेटिएको थियो भने कैलाश गाउँपालिकाका कैलाश बैकुण्ठ, देखारी र घैराङ पर्यटक पार्कलाई पनि गन्तव्यका रूपमा पहिचान गरिएको थियो। 

बकैया गाउँपालिकाका गौतमबुद्ध पर्यटन पार्क, धानेश्वर पार्क र बकैया ठाकुर पर्यटन पार्क एवम् बागमती गाउँपालिकाका झुरझुरेस्थित सहिद स्मारक पार्क, गोल्मे दरबार क्षेत्र र बेतिनीस्थित वनभोज स्थललाई पर्यटकीय गन्तव्यमा समेटिएको थियो। 

प्रत्येक पालिकाका तीन–तीनवटा गन्तव्यलाई पर्यटकीय गन्तव्यका रूपमा छनोट गरिए पनि तिनको आवश्यक प्रवर्द्धन हुन नसकेको पर्यटन क्षेत्रका जानकार बताउँछन्। पछिल्ला वर्षमा जिल्लाका हरेक पालिकाले पर्यटन र कृषिलाई मुख्य प्राथमिकतामा राखेको पाइन्छ। 

हेटौँडासहित जिल्लाका विभिन्न गन्तव्य पर्यटन प्रवर्द्धनको पर्खाइमा रहेको हिमालयन राइडर्स सोसाइटी हेटौँडाका अध्यक्ष राजु थापा गमरले बताए। जिल्लाका गन्तव्यलाई पर्यटकीय उपयोगमा ल्याउन स्थानीय तहको विशेष सक्रियता आवश्यक रहेको उनको भनाइ छ। पर्यटनको धेरै सम्भावना भएका ठाउँ हुँदाहुँदै पनि तिनको उचित उपयोग हुन नसकेको वास्तविकतालाई सबैले मनन गर्नुपर्ने उनले बताए।

कुनकुन छन् प्रमुख पर्यटकीय गन्तव्य ?   

हेटौँडास्थित सहिद स्मारक मकवानपुरमा धेरै पर्यटक आउने गन्तव्य मध्येको एक हो। पर्यटकलाई लक्षित गरी वर्षका ३६५ दिन नै यो स्मारक खुला राख्ने गरिएको छ। विशेषगरी बिदाका समयमा ठूलो सङ्ख्यामा पर्यटकले स्मारक क्षेत्रको भ्रमण गर्ने गरेको कार्यालयका लेखा अधिकृत आशिष बिडारीले बताए। 

विभिन्न शैक्षिक संस्थाको अवलोकन भ्रमणसँगै व्यक्तिगत रूपमा हेटौँडा घुम्न आउने पर्यटकका लागि पनि यो नछुटाउने गन्तव्यजस्तै बनेको छ। विशेषतः सार्वजनिक बिदाका दिनमा ठूलो सङ्ख्यामा पर्यटक आउने स्मारकमा नयाँ वर्षको दिन ३० हजारसम्म पर्यटक आउने गरेको तथ्याङ्क छ। 

स्मारक घुम्न आउने पर्यटकका लागि विभिन्न दरका टिकट शुल्क निर्धारण गरिएको छ। नेपाली सर्वसाधारणका लागि प्रतिव्यक्ति ५० रुपैयाँ र विद्यार्थीका लागि ३० रुपैयाँ शुल्क तय गरिएको छ। विदेशी पर्यटकमध्ये सार्क राष्ट्रका पर्यटकका लागि १०० रुपैयाँ र अन्य विदेशी मुलुकका पर्यटकका लागि १५० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ। 

विभिन्न कालखण्डका भक्तिथापादेखि २०४६ सालसम्मका सहिदलाई समेट्ने गरी १२ जना सहिद तथा ज्ञातअज्ञात सहिदको प्रतिनिधिका रूपमा एक–एक महिला र पुरुषको अमूर्त आकृति समावेश गरी सहिद स्मारक निर्माण गरिएको हो। तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ माघ १७ गते अनावरण गरेसँगै स्मारकको विकासक्रम सुरु भएको थियो। 

स्मारक परिसरमा वनभोजस्थलदेखि बालबालिकाको मनोरञ्जनका लागि चिप्लेटी, पिङ, जीप, ट्रेनलगायत संरचना छन् भने वयस्कका लागि रोटेपिङ, नाउडुङ्गा, फ्लाइङ चेयर र फ्लाइङ कार सञ्चालनमा छन्। त्यस्तै साहसिक मनोरञ्जनात्मक खेलअन्तर्गत जिपलाइन, रोलर कोस्टर जिपलाइन र स्काइ साइकल पनि सञ्चालन गरिएको छ। साहसिक मनोरञ्जनात्मक खेलका लागि निजी क्षेत्रलाई लिजमा दिएर सञ्चालन गरिएको छ भने हालै जातीय सङ्ग्रहालयसमेत स्थापना गरिएको छ। 

स्मारक परिसरमा ऐतिहासिक प्रजातान्त्रिक आन्दोलनका अगुवा विश्वेश्वरप्रसाद कोइराला, मनमोहन अधिकारी, पुष्पलाल श्रेष्ठ र गणेशमान सिंहका पूर्णकदका प्रतिमासहित आकर्षक बगैँचा, फाउन्टेनसहितको प्रजातान्त्रिक पार्क, सम्पूर्ण सहिदलाई एकै थलोमा स्मरण गर्न ६५ फिट अग्लो र १९ मिटर गोलाइको सहिदस्तम्भ तथा चिडियाघर रहेका छन्। 

हेटौँडा उपमहानगर क्षेत्रभित्रै रहेका दक्षिण एसियाकै पहिलो चुरिया सुरुङमार्ग, चुरियामाई मन्दिर, हर्नामाडीमा १४ देशका २३ मूर्तिकारले सिर्जना गरेका मूर्ति राखिएको मूर्ति सङ्ग्रहालय तथा जुरेथुमस्थित ४२ फिट अग्लो श्रीकृष्णको मूर्तिजस्ता गन्तव्यमा अझै अपेक्षित पर्यटक पुर्‍याउन सकिएको छैन। 

हेटौँडाकै महाभारतकालीन इतिहासको साक्षी भुटनदेवी मन्दिर, कुष्माण्ड सरोवर त्रिवेणीधाम र एकदिने हाइकिङसँग जोड्न सकिने भैरवडाँडास्थित पाथीभरा मन्दिर पनि प्रवर्द्धनको पर्खाइमा छन्। त्यस्तै वृन्दावन, पुष्पलाल पार्क, गुम्बाडाँडा ९मूर्तिकला उद्यान० र जुरेथुम यहाँका महत्वपूर्ण सम्पदास्थल हुन्। 

हेटौँडाको पर्यटकीय सम्भावनालाई लक्षित गरी उपमहानगरपालिकाले पर्यटन केन्द्रित विभिन्न कार्यक्रम अघि बढाइरहेको उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले बताइन्। उपमहानगरपालिकाले ‘हेटौँडा पर्यटन वर्ष २०८३’ को आधिकारिक प्रतीक चिह्न (लोगो) सार्वजनिक गर्ने तयारी गरेको छ। 

उपमहानगरपालिकाको आर्थिक वर्ष २०८३।८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार ‘हेटौँडा पर्यटन वर्ष २०८३’ मनाउने सन्दर्भमा उपमहानगर क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यटकीय स्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले आधिकारिक प्रतीक चिह्न तयार गर्न लागिएको प्रमुख लामाले बताइन्। 

प्रतीक चिह्न तयार गर्ने सम्बन्धमा उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै इच्छुक नेपाली नागरिक, कलाकार, डिजाइनर तथा सङ्घसंस्थालाई आह्वानसमेत गरेको थियो। उपमहानगरपालिकाबाट सञ्चालन भइरहेका विभिन्न कार्यक्रमलाई पर्यटन वर्षकै सन्दर्भमा जोडेर सञ्चालन गरिँदै आएको उनले बताइन्। 

‘उपमहानगरपालिका पर्यटनलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको छ’, उनले भनिन्, ‘पर्यटन लक्षित विभिन्न पूर्वाधार विकासमा सहयोगसँगै प्रवर्द्धनमा हामीले जोड दिँदै आएका छौँ।’   

मकवानपुर जिल्लाकै पर्यटकीय गन्तव्यमध्ये मकवानपुरगढी गाउँपालिकास्थित ऐतिहासिक मकवानपुरगढी सेनकालीन इतिहासको साक्षी हो। नेपालको एकीकरणपूर्व शक्तिशाली राज्यका रूपमा रहेको मकवानपुरगढी दरबार तत्कालीन वास्तुकला शिल्पको अनुपम उदाहरणसमेत हो। सेनवंशी राजाको इतिहासदेखि नेपाल एकीकरणका ऐतिहासिक पक्षको जीवन्त साक्षी यो दरबार अहिले मकवानपुरकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। 

हेटौँडाबाट करिब १६ किलोमिटर पूर्व कान्ति राजपथसँगै समुद्री सतहबाट एक हजार १७ मिटर उचाइमा रहेको यस गढीले नेपालको एकीकरण हुनुपूर्व सेनवंशीय शासनको ऐतिहासिक विरासत झल्काउँछ। गढीले परम्परागत तर तत्कालीन उन्नत वास्तुकलाको ज्वलन्त उदाहरण प्रस्तुत गर्नुका साथै त्यस कालखण्डमा राज्यले अपनाएका सुरक्षात्मक उपायलाई जीवन्त रूपमा चित्रण गरेको छ। 

सेन वंशका राजाहरूले १३औँ शताब्दीको सुरुतिर यहाँ शासन गरेको इतिहास पाइन्छ। सेनवंशका प्रतापी राजा मुकुन्द सेनकै नामबाट मुकुन्दपुर, माकन्दपुर र मुकुनपुरको अपभ्रंश हुँदै मकवानपुर नामकरण भएको मानिन्छ। 

यस गढीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने गरी विभिन्न पूर्वाधार निर्माणका काम अघि बढाइएको मकवानपुरगढी गाउँपालिका–२ का वडाध्यक्ष बखानसिंह पाख्रिनले जानकारी दिए। 

मकवानपुरकै राक्सिराङ गाउँपालिका–३ गलमटे केराबारीमा रहेको ‘जलपरी झरना’ जिल्लाको अर्को महत्वपूर्ण पर्यटकीय आकर्षण हो। हेटौँडाको मुख्य बजारबाट ३० किलोमिटर र मनहरीबाट करिब १० किलोमिटर दूरी पार गरेपछि जलपरी झरना पुग्न सकिने राक्सिराङ गाउँपालिका–३ का वडाध्यक्ष उत्तम वाइबाले बताए। 

पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको यस झरनाको प्रवर्द्धनसँगै पूर्वाधार विकासका लागि वडा कार्यालय निरन्तर लागिरहेको उनले बताए। राक्सिराङमा रहेका सीता अशोक बाटिकाजस्ता थुप्रै पर्यटकीय गन्तव्य पनि प्रवर्द्धनको पर्खाइमा छन्।

झरनासँगै चमेरे गुफालाई समेत समेटेर पर्यटकीय विकासका योजना अघि बढाइएको उनले बताए। यहाँको पर्यटकीय उपयोगलाई लक्षित गरी विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर० तयार गरेर संरक्षण र प्रवर्द्धनका लागि २०७४ सालदेखि निरन्तर प्रयास गरिएको छ। पूर्वाधार विकासका लागि प्रदेश तथा पालिकाबाट हालसम्म एक करोड २७ लाख रुपैयाँ बजेट विनियोजन भई विभिन्न काम सम्पन्न भएको उनको भनाइ छ। 

जिल्लाको दक्षिण–पूर्वी भागमा अवस्थित बकैया गाउँपालिकाले कृषि, पशुपालन तथा पर्यटनलाई प्राथमिकताका साथ अघि बढाउन खोजेको गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले जानकारी दिए। 

उनका अनुसार पालिका–६ स्थित गौतमबुद्ध पार्क, वडा नं ७ स्थित धनेश्वर पार्क, वडा नं १० स्थित अम्बास गढी र वडा नं १२ स्थित लटारम्भेश्वर महादेव मन्दिरलगायत थुप्रै पर्यटकीय गन्तव्य यस पालिकामा छन्। जिल्लामा रहेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन र विकासमा सबैको एकताबद्ध प्रयास आवश्यक रहेको उनको भनाइ छ। 

रासस  

प्रकाशित: १३ कार्तिक २०८३ १५:४५ शुक्रबार