मकवानपुरको भीमफेदीमा जिप दुर्घटनाका दुई घाइतेलाई पनि उपचारका लागि काठमाडौं रिफर गरिएको छ।
दुर्घटनामा घाइते भएका ६ जनामध्ये एक जनाको मृत्यु भएको छ भने हेटौडा अस्पतालमा उपचार गरिरहेका गाडीका चालक र रजिष्टारलाई थप उपचारका लागि काठमाडौं छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा पठाइएको मकवानपुर प्रहरीले जनाएको छ।
दाङ राप्ती न.पा. ८ बस्ने वर्ष ३२ का छुनिलाल चौधरी र रजिष्टार बैतडी दशरचन्द न.पा. ७ सुर्काल बस्ने वर्ष ५१ का तारादत्त बडु रहेका छन्। चौधरीको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ भने बडुको शरीरको विभिन्न भागमा चोट लागको छ।
यसअघि, दुर्घटनामा घाइते ६ जनामध्ये गम्भीर रहेकी ४९ वर्षीया लक्ष्मी बडुको काठमाडौंस्थित छाउनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। उनको शव सोही अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।
मंगलबार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो। नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण डाँगीसहित चार जनालाई वीरेन्द्र सैनिक अस्पताल छाउनी ल्याइएको थियो।
दुर्घटनामा न्यायाधीश डाँगी, रजिष्टार बैतडी दशरचन्द–७ सुर्कालका ५१ वर्षीय तारादत्त बडु, २५ वर्षीय रितेन्द्र बडु, ३१ वर्षीया रिता बडु र चालक राप्ती–८ का ३२ वर्षीय छुनिलाल चौधरी घाइते र लक्ष्मी बडु गम्भीर भएका थिए।
प्रकाशित: २ भाद्र २०८३ १३:२५ मंगलबार