मकवानपुरको इन्द्रसरोवरमा मंगलबार दिउँसो भएको यात्रुवाहक विद्युतीय गाडी दुर्घटनामा ज्यान गुमाएका चारमध्ये दुई जनाको सनाखत भएको छ।
यस्तै, दुर्घटनामा गम्भीर घाइते भई परिचय खुल्न नसकेका चौथो व्यक्तिको पनि पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार साथमा भेटिएको राहदानी, नागरिकता र राष्ट्रिय परिचयपत्रका आधारमा साँझ ६ बजे दुई मृतकको सनाखत भएको हो।
ज्यान गुमाउनेहरूमा नवलपरासी पूर्वको कावासोती नगरपालिका-१ का करिब २४ वर्षीय नरबहादुर सिंह ठकुरी र धनुषाको धनुषाधाम नगरपालिका-४ का ४३ वर्षीय सुरज भट्टराई रहेका छन्।
घटनास्थलमै ज्यान गुमाएका अन्य दुई पुरुषको भने अझै सनाखत हुन बाँकी छ। यसैगरी, दुर्घटनामा टाउको र शरीरका विभिन्न भागमा चोट लागी बोल्न नसक्ने अवस्थामा रहेका गम्भीर घाइते मकवानपुरगढी गाउँपालिका-१ का २३ वर्षीय राजकुमार स्याङतान रहेको खुलेको छ।
प्रहरीका अनुसार साँझ ५:०५ बजे चालकसहित तीन जना घाइतेलाई काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर र एक जनालाई हेटौंडा अस्पताल पुर्याइएको थियो।
हाल ट्रमा सेन्टरमा स्याङतानसहित चालक बारा कलैया-२४ का २० वर्षीय अमिर अन्सारी र हेटौंडा-११ की २३ वर्षीया कल्पना तामाङको गम्भीर अवस्थामा उपचार भइरहेको छ। अर्की घाइते बारा महागढीमाई-११ की २१ वर्षीया बबिया कुमारी यादवको हेटौंडा अस्पतालमा उपचार जारी छ।
काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको म.प्र. ०३-००१ ज ०७२० नम्बरको भाडाको ईभी गाडी सोमबार दिउँसो करिब २ बजे हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल सडकखण्डको इन्द्रसरोवर गाउँपालिका-२, सुकौरामा सडकबाट करिब एक हजार मिटर तल भिरमा खसेको थियो।
गाडीमा चालकसहित कुल ८ जना सवार थिए।
प्रकाशित: ३० भाद्र २०८३ १९:०४ मंगलबार