मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सुकौरामा सोमबार दिउँसो भएको यात्रुवाहक विद्युतीय गाडी दुर्घटनाका घाइतेहरूको पहिचान खुलेको छ।
दुर्घटनामा गम्भीर घाइते भएका चालकसहित तीन जनालाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ भने एक जनाको हेटौंडामा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइते हुनेहरूमा चालक बाराको कलैया उपमहानगरपालिका-२४ बस्ने अन्दाजी २० वर्षीय अमिर अन्सारी, हेटौंडा उपमहानगरपालिका-११ बस्ने २३ वर्षीया कल्पना तामाङ र नाम-थर नखुलेका करिब ३४/३५ वर्षका एक पुरुष रहेका छन्।
टाउको, ढाड र खुट्टामा गम्भीर चोट लागेका उनीहरू तीनै जनालाई ट्रमा सेन्टर काठमाडौं ल्याएर उपचार सुरु गरिएको छ।
यस्तै, दायाँ खुट्टा र शरीरमा चोट लागेकी बाराको महागढीमाई नगरपालिका-११ बस्ने २१ वर्षीया बबिया कुमारी यादवको अवस्था भने मध्यम रहेको र उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घटनास्थलमै ज्यान गुमाएका चारै जना पुरुषको भने हालसम्म सनाखत हुन सकेको छैन। करिब एक हजार मिटर गहिरो खोंचबाट शवहरू निकालेर पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
सोमबार दिउँसो करिब २ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको म.प्र. ०३-००१ ज ०७२० नम्बरको भाडाको ईभी गाडी हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल सडकखण्डको सुकौरामा सडकबाट तल खसेको थियो। गाडीमा चालकसहित कुल ८ जना सवार थिए।
प्रकाशित: ३० भाद्र २०८३ १७:४९ मंगलबार



