समाज

देशका प्रमुख सडकहरू अवरुद्ध

फाइल तस्बिर

वर्षा र पहिरोका कारण देशका विभिन्न ठाउँमा मुख्य सडकहरू अवरुद्ध भएका छन्। 

सुरक्षा तथा जोखिमलाई मध्यनजर गर्दै केही सडकमा रात्रिकालीन समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ। नेपाल प्रहरीले बुधबार बिहान ६:०० बजे सार्वजनिक गरेको विवरणअनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीलाई ध्यानमा राख्दै बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सम्पूर्ण सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ। 

यद्यपि, बिहान ४:०० बजेदेखि बेलुका ६:०० बजेसम्म भने उक्त खण्डमा सवारीसाधन सुचारु हुनेछन्। त्यसैगरी, मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सबै किसिमका सवारीसाधनको रातिको आवतजावत बन्द गरिएको छ। नुवाकोटको टोखा-छहरे सडक खण्डमा पनि वर्षाकै कारण राति १०:०० बजेदेखि बिहान ५:०० बजेसम्म अत्यावश्यक सेवाबाहेक अन्य सम्पूर्ण सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।

देशका अन्य विभिन्न स्थानमा पनि प्राकृतिक प्रकोपका कारण महत्त्वपूर्ण सडक मार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। इलाम नगरपालिका-९, राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण बाटो हिलो भई सवारीसाधन चल्न नसक्दा सडक अवरुद्ध बनेको छ, यद्यपि सो स्थानमा वैकल्पिक बाटो प्रयोग गर्न सकिने व्यवस्था छ। 

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ स्थित कोदारीको इकु पहिरोमा सडकमा लेदो खसेको तथा लिपिङ क्षेत्रमा सडक भासिएका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

यस्तै, रसुवाको उत्तरगया गाउँपालिका-५, खाल्टेस्थित त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी जाने कच्ची सडक खण्डमा त्रिशूली नदीले सडक मुनिबाट कटान गरेपछि पासाङ ल्हामु सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ।

उता, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-६, रिजेगार्ड खोलास्थित भेरी करिडोर (जाजरकोट-डोल्पा सडक खण्ड) मा पनि सडक माथिबाट लेदो खसेर यातायात सेवा अवरुद्ध भएको छ।

संखुवासभाको भोटखोला गाउँपालिका-३, सिरेक डाँडास्थित कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथांका सडक खण्डमा करिब १० मिटर सडक भासिएर पूर्ण रूपमा अवरुद्ध बनेको छ। 

यसका साथै, लमजुङको मर्स्याङ्दी गाउँपालिका-४, रामबजारमा अविरल वर्षाका कारण सडक माथिबाट पहिरो खस्दा बेँसीशहर-मनाङ सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध हुन पुगेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ३ भाद्र २०८३ ०६:४० बुधबार