शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न सडकखण्डमा आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ। वर्षाले ल्याएको पहिरो र ढुङ्गा खस्दा बीपी राजमार्ग, अरनिको राजमार्ग र पृथ्वी राजमार्गका विभिन्न स्थानमा सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ।
वर्षाका कारण आएका साना पहिरो र ढुङ्गा खसिरहेकोले बीपी राजमार्ग अवरुद्ध छ भने काभ्रेको धुलिखेल–पाँचखाल सडकखण्डमा ढुङ्गा खसेका कारण अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ। त्यसैगरी पृथ्वी राजमार्गको धादिङस्थित जवाङ खोला लगायत अन्य स्थानमा पनि पहिरो जाँदा सवारी आवागमन रोकिएको छ। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ सार्कीपोखरी, धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जबाङखोला, रामेछापको गोकुलगंगा गाउँपालिका–८ पुजाखोला र सुम्पुखाका गोकुलगंगा गाउँपालिका–७ मा समेत राजमार्ग सञ्चालनमा अवरोध आएको छ।
एसपी नरेश सुवेदीका अनुसार नागढुङ्गाबाट गाडीहरू फर्काइएका छन् भने काभ्रेभञ्ज्याङमा रोकिएका गाडीहरूलाई पनि काठमाडौं फर्काइएको छ। हेटौँडा सडकखण्डमा समस्या आएका कारण मकवानपुरबाट आउने सवारीसाधनलाई रोक लगाइएको छ। प्रहरीले काभ्रेपलाञ्चोक र काठमाडौंमा भने तत्काल अर्को आदेश नभएसम्म दुवै तर्फबाट सवारीसाधन होल्ड गरिएको जनाएको छ।
पानी नरोकिएको कारण सुरक्षा जोखिम बढ्दो रहेको भन्दै एसपी सुवेदीले अविरल वर्षाका कारण पहिरो जाने डर भएकोले पूर्व तयारीमा रहेको बताएका छन्। नेपाल प्रहरीले प्रभावित क्षेत्रमा पहिरो पन्छाउने र सडक खुलाउने कार्य जारी रहेको जनाएको छ।
प्रकाशित: १८ आश्विन २०८२ १२:२८ शनिबार