समाज

बराह सहकारीको ५ अर्ब ८८ करोड हिनामिना प्रकरणमा मुख्य योजनाकार पक्राउ

अन्य संलग्नको खोजी र कारबाही तीव्र पारिने गृहमन्त्रीको भनाइ

सुनसरीको धरानमा रहेको बराह सहकारीको साढे पाँच अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना भएको प्रकरणमा मुख्य योजनाकार भनिएका शिवकुमार विश्वकर्मा (लामिछाने) पक्राउ परेका छन्। सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई नियन्त्रणमा लिएको हो।

गृहमन्त्री सुधन गुरुङले बुधबार सामाजिक सञ्जालमार्फत विश्वकर्मा पक्राउ परेको जानकारी दिँदै बराह सहकारीमा ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको बताएका छन्। उक्त प्रकरणका मुख्य योजनाकारलाई कानुनी दायरामा ल्याउन सफल भएको उनको भनाइ छ।

गुरुङले धरानमा ‘सेभ घोपा’ अभियान सञ्चालन गर्ने क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध आवाज उठाउँदा पूर्वी नेपालका सहकारी पीडित बचतकर्ताको समस्याबारे जानकारी पाएको उल्लेख गरेका छन्।

अभियन्ताका रूपमा रहँदा र जेनजी आन्दोलनपछिका प्रयासमा तत्कालै पीडितलाई न्याय दिलाउन नसके पनि गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि यस विषयमा अनुसन्धान र खोजी तीव्र पारिएको उनले बताएका छन्।

उनका अनुसार बराह सहकारीमा भएको ठूलो रकम हिनामिनाबाट प्रभावित बचतकर्तालाई न्याय दिलाउन सरकार प्रतिबद्ध छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी गरी कानुनी कारबाहीको दायरामा ल्याउने प्रक्रिया पनि अघि बढाइने उनले बताएका छन्।

सहकारीमा भएको अर्बौं रुपैयाँको हिनामिनाले पूर्वी नेपालका बचतकर्तालाई प्रभावित पारेको छ। मुख्य योजनाकार भनिएका विश्वकर्माको पक्राउसँगै घटनामा संलग्न अन्य व्यक्तिको भूमिका र रकम अपचलनको थप विवरण अनुसन्धानबाट खुल्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २ मंसिर २०८३ १४:१३ बुधबार