समाज

अमेरिकाबाट प्रधानमन्त्रीको विशेष अपिल- सावधान रहौं, सुरक्षित रहौं

जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा र हावाहुरीको प्रक्षेपण गरेपछि सरकारले देशभर उच्च सतर्कता अपनाएको छ।

हाल अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले बिहीबार साँझ सामाजिक सञ्जालमार्फत नागरिकका नाममा अपिल जारी गर्दै पूर्वतयारीका लागि सम्पूर्ण राज्य संयन्त्र परिचालन गरिएको जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहका अनुसार पछिल्लो २४ घण्टामा सरकारका सबै मन्त्रालय तथा मातहतका निकायहरूले विपद् व्यवस्थापन र पूर्वसावधानीका लागि तीव्र तयारी गरेका छन्।

देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई उच्च सतर्कता अपनाउन परिपत्र गरिएको छ भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा राखिएको छ। सुरक्षा निकायले नदी तटीय क्षेत्रमा माइकिङ गरी स्थानीयलाई सचेत गराउँदै उद्धारका लागि पूर्ण तयारी गरेका छन्।

प्रधानमन्त्री शाहले रातिको समयमा राजमार्गमा यात्रा नगर्न, अनावश्यक लामो दूरीको यात्रा स्थगित गर्न र सुरक्षित स्थानमा बस्न नागरिकसँग आग्रह गरेका छन्।

राजमार्गका प्रत्येक सुरक्षा जाँच चौकीले अघिल्लो चेकपोइन्टसँग सम्पर्क गरी सडक सुरक्षित रहेको सुनिश्चित भएपछि मात्र सवारीसाधन अघि बढाउने ‘रोक, पर्ख र हेर’ नीति लागू गरिएको छ।

सम्भावित बाढी, पहिरो तथा कटानलाई ध्यानमा राखी जोखिमयुक्त सडकखण्ड नजिकै एक्स्काभेटर, लोडर, डोजरजस्ता भारी उपकरणहरू तयारी अवस्थामा राखिएको छ।

सबै सडक डिभिजन कार्यालयलाई २४ सै घण्टा सक्रिय रहन र सडकको अवस्थाबारे नियमित सूचना सार्वजनिक गर्न निर्देशन दिइएको छ।

हिमाली तथा पहाडी क्षेत्रमा पदयात्रा र पर्वतारोहणमा रहेका स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षित स्थानमा सार्न पर्यटन व्यवसायी, होटल व्यवसायी र स्थानीय बासिन्दालाई समन्वय गर्न आग्रह गरिएको छ। मौसमको अवस्थाअनुसार आन्तरिक उडानमा सुरक्षा मापदण्ड कडाइका साथ पालना गराउन र उद्धार उडानलाई प्राथमिकता दिन हवाई निकायहरूलाई निर्देशन दिइएको छ।

देशका सबै ७५३ स्थानीय तहलाई विपद् व्यवस्थापन समितिको बैठक बसेर जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न र प्रमुख प्रशासकीय अधिकृतहरूलाई मन्त्रालयसँग नियमित सम्पर्कमा रहन भनिएको छ। सार्वजनिक बिदाको अवधिमा पनि राष्ट्रसेवक कर्मचारीहरूलाई विपद् प्रतिकार्यमा तत्पर रहन निर्देशन दिइएको छ।

विद्यार्थी तथा बालबालिकाको सुरक्षालाई ध्यानमा राखी स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार असोज ९ गते विद्यालयको पठनपाठन बन्द गर्न र सम्बन्धित विश्वविद्यालय तथा परीक्षा बोर्डहरूलाई यस अवधिमा तोकिएका परीक्षा स्थगित गर्न निर्देशन दिइएको छ।

प्रधानमन्त्रीले बालबालिकालाई नदीनाला तथा पहिरो जोखिम क्षेत्रमा जान नदिन अभिभावकहरूसँग विशेष अनुरोधसमेत गरेका छन्।

सबै अस्पताल तथा स्वास्थ्य चौकीहरूलाई आवश्यक जनशक्ति र औषधिसहित आकस्मिक सेवा सुचारु राख्न भनिएको छ भने स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई पूर्ण सक्रिय बनाइएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका गोदाममा पर्याप्त मौज्दात कायम राख्न, वैकल्पिक मार्गबाट अत्यावश्यक वस्तु ढुवानी गर्न र विपद्को बहानामा हुने कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रण गर्न कडा बजार अनुगमनको निर्देशन दिइएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणमार्फत देशभर नागरिकलाई एसएमएस अलर्ट पठाइएको छ भने अवरुद्ध हुनसक्ने दूरसञ्चार सेवा तत्काल सञ्चालन गर्न प्राविधिक टोली तयारी अवस्थामा राखिएको छ।

प्रकाशित: ८ आश्विन २०८३ २०:५९ बिहीबार