पर्याप्त आधार र कारणबिना नागरिकलाई नियन्त्रणमा लिने र छाड्ने कार्य संविधान तथा विधिको शासनविपरीत भएको भन्दै नेपाल बार एसोसिएसनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउको विरोध गरेको छ।
सुरक्षा चुनौतीको कारण देखाउँदै प्रहरीले आइतबार पूर्वप्रधानन्यायाधीश राणालाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएको करिब ११ घण्टापछि आइतबारै दिउँसो प्रहरीले उनलाई परिवारको जिम्मा लगाएर छाडेको थियो।
सोमबार विज्ञप्ति जारी गर्दै नेपाल बारले आधार र प्रमाणबिना नागरिकलाई पक्राउ गर्ने कदम लोकतान्त्रिक शासन प्रणालीविपरीत भएको ठहर गरेको छ।
नियन्त्रणमा रहेका बखत राणासँग राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिलाई समेत भेटघाट गर्न नदिइएको विषयमा बारले गम्भीर आपत्ति जनाएको छ। आफूहरू कुनै पनि प्रकारको स्वेच्छाचारी शासनको पक्षमा रहन नसक्ने बारले बताएको छ।
बारका महासचिव केदारप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘न्यायपालिका स्वच्छ र भ्रष्टाचार मुक्त हुनुपर्छ। सरकार, राजनीतिक नेता वा न्यायपालिकाका पूर्वपदाधिकारीबाट यसको स्वच्छता र स्वतन्त्रताविरुद्ध हुने कुनै पनि प्रकारको हस्तक्षेपको यस एसोसिएसन प्रतिवाद गर्दछ।’
अनाहकमा नागरिकलाई पक्राउ नगर्न सम्बन्धित निकायलाई सचेत गराउँदै बारले न्यायालयलाई दबाब, अभाव र प्रभावमा पारेर अनुकूल चलाउन खोज्ने जो-कसैको डटेर सामना गर्नेसमेत चेतावनी दिएको छ।
यसैबीच बारले सेवानिवृत्त प्रधानन्यायाधीश तथा न्यायाधीशहरूलाई अदालतमा विचाराधीन मुद्दामामिलामा चासो नराख्न आचारसंहिताको स्मरणसमेत गराएको छ।
‘सेवानिवृत्त प्रधानन्यायाधीश, न्यायाधीश वा अन्य कुनै व्यक्तिले विचाराधीन मुद्दामामिलामा कुनै पनि माध्यम वा स्थानबाट हस्तक्षेप, चासो, सरोकार वा छलफल गर्न नहुने कानुनी तथा आचारसंहिताको व्यवस्थाको पालना गर्न पनि बारले सम्बन्धित सबैलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: १२ आश्विन २०८३ १५:४३ सोमबार