समाज

सडक सञ्जालमा जोडिँदै महावै

कर्णाली प्रदेश अन्तर्गत रहेको  महावै गाउँपालिकाको केन्द्र जोड्ने सेरावाडा–पादमघाट सडक निर्माणको काम सुरु भएको छ। ३३ करोड ७६ लाख २७ हजार ५६४ रुपैयाँमा एम र एस ओसिस इन्जिनियर्स बिल्डर्सले काम सुरु गरेको हो। 

सडक निर्माणका लागि ५० करोड ४७ लाख ५७ हजार १५५ रुपैयाँ ५२ पैसा स्वीकृत लागत अनुमान गरिएकोमा ३३ करोड ६६ लाख २७ हजार ४६४ रुपैयाँ १४ पैसामा एम र एस ओसिस इन्जिनियर्स बिल्डर्ससँग सम्झौता भएको हो। आयोजनाको सम्झौता २०८३ जेठ २ गते भएको हो भने निर्माण व्यवसायीले २०८६ असार ३ गतेभित्र निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोकिएको छ।

कर्णाली राजमार्गको सेरावाडादेखि महावै गाउँपालिकाको केन्द्र पादमघाटसम्मको ६ किलोमिटर सडक निर्माणका लागि काम सुरु भएको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए। 

‘अब गाउँपालिका पुग्ने सडक निर्माण हुनेछ। पालिका केन्द्र पुग्न पैदल हिँड्नुपर्ने बाध्यताको अन्त्य हुनेछ,’ उनले भने, ‘तिला नदीको सेरावाडामा बेलिब्रिज बनाइसकेका छौँ। पादमघाट खोलामा पनि सडक विभागले पक्की पुलको काम गरिरहेको छ।’  

यो सडक बनेपछि स्थानीयलाई पैदल हिँड्नुपर्ने बाध्यता अन्त्य हुने र पालिका केन्द्रसम्म कालोपत्रे सडक पुग्नेछ। कालीकोटका ९ मध्ये ६ वटा स्थानीय तहको केन्द्रसम्म सडक पुगे पनि महावै गाउँपालिका, पलाँता, पचालझरना र शुभकालिका गाउँपालिकाको केन्द्र पुग्न पैदल हिँडेर जानुपर्ने बाध्यता छ। 

गाउँपालिकाको केन्द्र जोड्ने मुख्य सडक स्तरोन्नतिको काम समयमै पूरा भएमा महावैका स्थानीय बासिन्दालाई आवतजावत र दैनिक उपभोग्य वस्तुको ढुवानीमा ठूलो राहत पुग्ने अपेक्षा स्थानीयले गरेका छन्।  

प्रकाशित: १९ भाद्र २०८३ १४:५३ शुक्रबार