लामो समयदेखि पानी नपर्दा मध्य असारमा पनि किसानहरूले खडेरी बेहोर्नुपर्यो। धानको ब्याड सुक्यो। खेतहरू चिरा परे। खडेरी र सुक्खापनका कारण सरकारले नै संकटग्रस्त घोषणा गरेको मधेसमा वर्षा भएपछि किसानलाई राहत हुनु स्वाभाविक हो। तर यो राहतभित्र पनि बाढीको डर लुकेको छ। किनकि पछिल्ला शनिबार रातिदेखि मधेसको धेरै भारी वर्षा मापन भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला २४ घण्टामा सबैभन्दा धेरै वर्षा सिरहाको सिरहा हाइड्रो केन्द्रमा मापन भएको छ। उक्त केन्द्रमा धेरै भारी अर्थात् १०१.६ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै धनुषाको हर्दिनाथमा ४७, तुलसी केन्द्रमा ४७.८, महोत्तरीको गौशालामा ५८, सर्लाहीको परवानीपुरमा ४८.४ मिलिमिटर वर्षा भएको छ।
विभागका अनुसार गत २४ घण्टामा सबैभन्दा बढी उदयपुरको गाईघाटमा एक सय ३२ मिलिमिटर वर्षा मापन भएको छ। पूर्वी तराईको जिल्ला झापाको अनरमणि बिर्तामा १२५, दमकमा ११२.८ मिलिमिटर वर्षा भएको छ।
मौसमविद् धर्मराज उप्रेती मनसुनको न्यूनचापीय रेखा नेपालनजिक भएकाले अझै केही दिन मधेस र सुदूरपश्चिममा पानी पर्ने बताउँछन्। ‘अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त वायु उत्तरतर्फ आइरहेको छ,’ उनले भने, ‘त्यसैले केही दिन मधेसमा पानी पर्नेछ।’
सुक्खाग्रस्त क्षेत्रमा एकाएक भीषण वर्षा हुँदा किसानमा डर पनि पैदा गरेको छ। ‘बल्लबल्ल धान रोप्न पानी त आयो तर बाढीले खेतै बगाउँला भन्ने चिन्ता छाएको छ,’ सर्लाहीका किसान विजेन्द्र यादव भन्छन्, ‘पानीको सतह बढेसँगै बस्ती डुब्ने डर पनि छ।’
उनमा जस्तै चिन्ता अन्य किसानमा पनि देखिएको छ। जुन पानीको थोपाले अन्न फलाउने उनीहरूमा आशा जगाउँछ, त्यही पानीले जिन्दगी बगाएर लैजाने डर उत्पन्न भएको छ। त्यसैले यो वर्षा वरदान कि विपत्ति भनेर किसान अझै निर्णयमा पुग्न सकेका छैनन्। ‘पानी पर्दा निकै खुसी लागेको छ,’ विजेन्द्र भन्छन्, ‘तर बाढीको डर पनि उत्तिकै छ। पानी नपरेको भनी पिर झेल्दै आएका हामीलाई अहिले धेरै पानी पर्ने डरले सताएको छ।’
तराई क्षेत्रमा बसेर लामो समय चुरेको अध्ययन गरिरहेको वातावरणविद् नागदेव यादव जलवायु परिवर्तनको असर अहिले प्रत्यक्ष रूपमा तराईले भोग्नुपरेको बताउँछन्।
विगतमा थोरैथोरै गरेर लामो समय पानी पर्ने र त्यसलाई चुरेले सञ्चित गरेर राख्ने गरेको बताउँदै अहिले त्यस्तो हुन नसकेको उनले बताए। ‘कि पानी पर्दैन, पर्यो भने त्यो दुईचार घण्टामै भेल बनेर खोलाहरूमा दगुर्न थाल्छ,’ उनले भने, ‘यही अचानक ढंगले आएको भेल निकै जोखिमपूर्ण हुन्छ।’
उनले भनेजस्तै मधेसको धेरैजसो भूभाग साउनको दोस्रो सातासम्म पनि तातो हावाले तातिरहेको थियो। रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी हुँदै पर्सासम्मको भूगोलमा एक प्रकारको मौन त्रास फैलिएको थियो। धान रोप्ने समय सकिन लाग्दा पनि जमिन सुक्खै थियो। मौसमविद्ले मनसुन ढिलो भएको जानकारी दिइरहे पनि किसानका लागि त्यो अनुमान केवल सान्त्वना जस्तै थियो। तर अहिले पानी परेपछि त्यो सान्त्वना आशामा बदलिएको छ।
‘धान खेती हाम्रो जीविकाको मुख्य आधार हो,’ वीरगन्ज–३२ का विजय पन्जियार भन्छन्, ‘तर अहिले पनि धान रोपाइँ भइसकेका खेतहरू पानीको अभावमा चिराचिर परेका छन्।’
पूर्वी तराईमा बाढीको चिन्ता छाइरहेका बेला मध्य तराईको पर्साका पन्जियाले सोमबार बिहान १० बजे गरेको चिन्ता हो यो। उनको ठाउँमा पनि चाँडै पानी पर्ने जानकारी उनलाई छैन तर चाडै नै बाढी आउने जानकारी मौसमविद्लाई छ। विजयले भनेजस्तै समस्या आम किसानको रहेको वातावरणविद् यादव बताउँछन्। ‘कि पानी नै नहुनु, भयो भने बाढी हुनु,’ उनले भने, ‘यो नै मधेसको पछिल्लो डरलाग्दो अवस्था हो।’
सुक्खा भएका कारण सरकारले औपचारिक रूपमा मधेसलाई ‘सुक्खाग्रस्त क्षेत्र’ घोषणा गर्यो। सर्लाही, महोत्तरी, धनुषा, रौतहटलगायत जिल्लाहरूमा साउन ढल्किँदै जाँदा धानको ब्याड सुकिसकेको थियो। प्रधानमन्त्रीले त बारा र महोत्तरीको स्थलगत अनुगमनसमेत गरे।
किसानहरू सरकारी राहतको प्रतीक्षा गर्दै आकाशतिर हेर्थे, जहाँ न बादल थियो न सपना। अधिकांश ठाउँमा कुलोमा पानी थिएन। इनारहरू पनि सुकेका थिए। दमकलबाट गाउँमा खानेपानी पुर्याइन्थ्यो। जनप्रतिनिधिहरूका समाचार आउँथे– पानी नभए मानवीय संकट आउँछ।
‘अहिले हामी मधेसका किसानलाई पानी बाँड्दै छौं, हेर्दै जानुस् केही दिनमा राहत सामग्री बाँड्नुपर्ने हुन्छ,’ सुक्खाको अवस्था र बाढीको सम्भावनालाई दृष्टिगत गर्देै वातावरणविद् यादवले केही दिनअगाडि कार्यक्रममा बोलेको कुरा सुनाउँदै भने, ‘भारी वर्षा हुने सम्भावनाले हामीलाई बाढीको जोखिमतर्फ बढाएको छ।’
मधेसमा पानीको यति समस्या थियो कि खेतमा पानी सिँचाइ गर्ने कुरा टाढा रह्यो, कतिपय गाउँमा त पिउने पानी नै अभाव भयो। त्यसैले सर्लाही, महोत्तरी, धनुषा, सिरहा र रौतहटका धेरै स्थानमा दमकल, ट्यांकर र जनप्रतिनिधिले कुवाबाट भरेर पानी पुर्याउने काम गरे।
पछिल्लो वर्षाले धान रोप्ने ढिलो भए पनि आशा बचेको संकेत दियो। यत्रो पीडापछि बचेको जमिनमा बाँकी धान रोप्ने योजनामा किसानहरू फेरि जागेका छन्। विज्ञहरू भने यो वर्षालाई भविष्यको चेतावनीका रूपमा लिन्छन्।
‘यो केवल जलवायु परिवर्तनको संकेत हो। लामो समयसम्म वर्षा नहुनु, अचानक मुसलधारे वर्षा हुनु, असिनासहितका अन्धाधुन्ध घटनाहरू बढ्नु, यी सबैले कृषि प्रणालीलाई थप संकटतर्फ धकेलिरहेका छन्,’ यादव भन्छन्, ‘दीर्घकालीन रणनीति तयार नगरे जलवायु संकटले गर्दा सुक्खापन र बाढीको दोहोरो चोट मधेसका किसानले सालैपिच्छे खेप्नुपर्नेछ।’
उनले गाउँ क्षेत्रमा जलाशय निर्माण र संरक्षण वैकल्पिक सिँचाइ प्रविधि सौर्य पम्प र जलमूल्य सस्तो बनाउने प्रणालीमा लगानी गर्नुपर्ने सुनाए।
त्यस्तै जलवायु सहनशील बाली प्रवर्द्धनमा जोड दिनुपर्ने, धेरै पानी नचाहिने र छोटो समयमा पाक्ने बालीहरूको अनुसन्धान र विस्तार गर्नुपर्ने आवश्यकता उनले औंल्याए। उनले मधेसको यो वर्षा एउटा अस्थायी राहत भएको र राहतको लहरभित्र एउटा चेतावनी पनि रहेको सुनाए। ‘अब कृषि प्रणालीलाई जलवायुमैत्री बनाउने समय आएको छ,’ उनी भन्छन्, ‘परम्परागत वर्षामा भर परेर अब चल्दैन। दीर्घकालीन समाधानमा सरकारको प्रतिबद्धता, जनताको साझेदारी र वातावरणको रक्षा अनिवार्य भएको छ।’
प्रकाशित: १९ श्रावण २०८२ ०६:१० सोमबार