समाज

मदन भण्डारी राजमार्ग : ‘बड्डीचौर–खम्बागाडे’ सडकमा रुख कटानको अनुमति

सरकारले सुर्खेतको पश्चिम क्षेत्रका नागरिकहरुको जीवन रेखा मानिएको ‘बड्डीचौर–खम्बागाडे’ सडक खण्डमा पर्ने रुखहरु कटानको अनुमति दिएको छ । १३.९ किलोमिटर सडक कालोपत्रेका लागि २०७९ सालमै संझौता भएपनि रुख कटाउनको अनुमति नपाउँदा पश्चिम क्षेत्रका नागरिकहरुले वर्खामा सास्ती भोग्दै आएका छन् ।

२०८१ असार मसान्तसम्म काम सम्पन्न गर्ने गरेर अनक÷जयदेव जेभीले ४२ करोड ५८ लाख ६० हजार ५६३ रुपैयाँमा ठेक्का लिएको थियो । यो निर्माण कम्पनी प्रतिनिधिसभा सदस्य दिक्पालकुमार शाहीको हो । निर्माण व्यवसायीले बाटोमा पर्ने रुख कटान नहुँदा काम गर्न नसकेको बताउँदै आएको छ । आयोजनाको हालको प्रगति ४५ प्रतिशत छ ।  

२०८१ चैत २६ गतेको मन्त्रिपरिषद् बैठकले बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाभित्र पर्ने १०.३९९ हेक्टर राष्ट्रिय वन क्षेत्रका विभिन्न प्रजातिका ८६४ वटा रुख÷पोल हटाउन स्वीकृति दिएको थियो । बुधबार वन तथा भू–संरक्षण विभाग, मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय र कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएसँगै रुख कटानको बाटो खुलेको छ ।  

बड्डीचौर–खम्बागाडे सडक मदन भण्डारी आयोजना अन्तर्गत पर्ने भएपनि तत्कालीन अवस्थामा चाँडो निर्माण सम्पन्न गर्ने उद्देश्यले प्रदेश सरकारले ठेक्का लगाएको थियो । तर, रुख कटाउनको स्वीकृति नपाउँदा सडक निर्माणको काम अघि बढ्न सकेको थिएन् । खम्बागाडेभन्दा अघाडिको सडक मदन भण्डारी आयोजनाले ठेक्का लगाएर पनि निर्माण सम्पन्न भइसकेको छ । पश्चिम सुर्खेतको प्रशासनिक तथा व्यापारिक केन्द्र बावियाचौर पुग्नका लागि यहीँ १३.९ किलोमिटरको सडकमा यात्रा गर्नुपर्छ ।

पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निर्देशक सूर्यबहादुर शाहीले दश दिनभित्रै रुख कटानको प्रक्रिया थालिने बताए । सडक विस्तार र कालोपत्रे गर्नका लागि सबैभन्दा जटिल मानिएको जग्गा प्राप्ति र रुख कटानजस्ता व्यवधान हटेकाले अब निर्माण कार्य द्रूतगतिमा अघि बढ्ने उनको भनाई छ । आयोजना निर्माणका लागि निर्माण कम्पनीलाई २०८३ असारसम्मको समयसीमा दिइएको छ ।  

निर्देशक शाहीले तोकिएकै समयमा निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको बताए । ‘अहिलेसम्म रुख कटाउन नहुँदा काम गर्न सकिएन भन्ने निर्माण व्यवसायीको भनाई रहँदै आएको थियो,’ उनले भने, ‘अव निर्माण कम्पनीसँग बहानाबाजी गर्ने छुट छैन् ।’

प्रकाशित: ८ श्रावण २०८२ १९:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App