समाज

स्वयम्भू क्षेत्रका स्थानीयको मर्का : हामी बाँदरसँग जुध्न सक्दैनौँ, व्यवस्थापन गरिदिनोस्

मानवीय र दिगो व्यवस्थापनको काम गरिने कार्यवाहक प्रमुखको भनाइ

बाँदरसँग आफूहरू जुध्न नसक्ने बताउँदै स्वयम्भू क्षेत्रका स्थानीयबासीले बाँदर व्यवस्थापन गरिदिन काठमाडौं महानगरपालिकासँग अनुरोध गरेको छ।

आज महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको कार्यकक्षमा भएको बैठकमा उनीहरूले बाँदरसँग सम्बन्धित मर्का सुनाउँदै भने, ‘छिनछिनमा आतंक मच्चाउँछन्। हुलका हुल, बथानका बथान घरभित्र छिर्छन्। एक पटक घरमा पस्यो भने ५ हजारदेखि १० हजार रुपैयाँसम्मको क्षति गर्छन्। घरबाट फलफूलको बास्ना आयो भने त झन उग्र हुन्छन्। र, जसरी पनि घरभित्र छिर्न खोज्छन्।’

बाँदर र मानव बिचको द्वन्द्व सुनाउँदै उनीहरूले आफू यसरीइ बाँदरको आतंकमा बस्न नसक्ने बताए।

उनीहरूले भने, ‘अरू मानिसहरू चिडियाखानामा गएर तारबारभित्रका जंगली जनावर हेर्छन्। हामी स्वयम्भूवासी चाहिँ घरमा तारबार गरेर भित्र छौँ। हामीलाई बाँदरले बाहिरबाट घरमा भए नभएको हेर्छन्। हामी बाँदर विरोधी होइनौँ। ती बाँदर नास्नु पर्छ भन्ने होइन। तर, उनीहरूको आतंकमा बस्न सक्ने अवस्थामा रहेनौँ। यस कारण व्यवस्थापन नगरी हुँदैन।’

उनीहरूको कुरा सुनिसकेपछि कार्यवाहक प्रमुख डंगोलले बाँदरहरूको मानवीय व्यवस्थापनमा तत्काल गर्न सकिने कामका लागि पीडामा रहेका स्थानीय, वन्यजन्तु विज्ञ र सरोकारवालाका बिचमा छलफल गरेर दिगो समाधान खोज्ने बताइन्। 'अहिलेका लागि तत्काल गर्न सकिने व्यवस्थापनको नमूना कार्यक्रम थालनी गरौँ,’ उनले भनिन्, ‘अध्ययन गरेर कार्ययोजनाका साथ द्वन्द्व व्यवस्थापनको काम गरौँ। यसले दिगोपना प्रदान गर्नेछ।’ 

प्रकाशित: ३० श्रावण २०८३ ११:२४ शनिबार