भक्तपुरको बालकोट–कौशलटार क्षेत्रमा रहेको हनुमन्ते खोला किनारको सार्वजनिक जग्गा अतिक्रमण गरी निजीकरण गरिएको आरोप स्थानीयवासीले लगाएका छन्। स्थानीयका अनुसार खोला किनारमा रहेको झण्डै ४५ रोपनी सार्वजनिक जग्गा कित्ताकाट गरी प्लटिङसहित बिक्रीसमेत गरिएको भन्दै संलग्न भूमाफियामाथि कारबाहीको माग गरिएको हो।
यस विषयमा स्थानीयवासीले शुक्रबार भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विनोदकुमार खड्कामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। साथै सार्वजनिक जग्गा संरक्षणका लागि स्थानीय पुष्कर विष्टको अध्यक्षतामा संघर्ष समिति समेत गठन गरिएको छ।
स्थानीयवासीका अनुसार पुस्तौंदेखि भोगचलन गर्दै आएको र लालपुर्जा समेत रहेको जग्गाको हालसाबिक गर्न नापी तथा मालपोत कार्यालय पुग्दा अनपेक्षित समस्या देखिएको हो। उनीहरूले भोगचलन गर्दै आएको जग्गा हनुमन्ते खोलाको मापदण्डभित्र परेको भन्दै कार्यालयहरूले हालसाबिक रोक लगाएको बताएका छन्। स्थानीयको आरोप छ, सार्वजनिक जग्गालाई निजी स्वामित्वमा परिवर्तन गरेर वास्तविक जग्गाधनीको हक कमजोर बनाउने प्रयास भइरहेको छ।
संघर्ष समितिका अध्यक्ष पुष्कर विष्टका अनुसार हनुमन्ते खोलाको प्राकृतिक बहाव परिवर्तन गरिएपछि खोलाले ओगटेको क्षेत्र र आसपासको सार्वजनिक जग्गा क्रमशः निजी प्रयोजनमा प्रयोग हुन थालेको थियो। बहाव परिवर्तनसँगै त्यस क्षेत्रमा जग्गा विकास र प्लटिङको काम भएको र अहिले ती जग्गा विभिन्न व्यक्तिको नाममा लालपुर्जासहित दर्ता भएको दाबी उनले गरेका छन्। यद्यपि तीमध्ये कतिपय व्यक्तिहरू वास्तविक रूपमा जग्गाको भोगचलनमा नरहेको स्थानीयको भनाइ छ।
स्थानीयले सार्वजनिक सम्पत्ति संरक्षण गर्नुपर्ने सरोकारवाला निकायहरू यस विषयमा मौन बसेको आरोप लगाएका छन्। मध्यपुर थिमि नगरपालिका वडा नम्बर ३, मध्यपुर थिमि नगरपालिका, सूर्यविनायक नगरपालिका, मालपोत कार्यालय र नापी कार्यालय भक्तपुरबीचको मिलेमतोमा यस्तो कार्य भएको आशंका स्थानीयको छ। यही कारण विषयलाई प्रधानमन्त्रीसम्म पुर्याउन प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाइएको उनीहरूले बताएका छन्।
स्थानीयवासीका अनुसार त्यस क्षेत्रको भौतिक विकाससँगै हनुमन्ते खोलाको पुरानो स्वरूपमा परिवर्तन आएको छ, जसले सार्वजनिक क्षेत्रको उपयोगबारे गम्भीर प्रश्न उठाएको छ। उनीहरूले खोलाको पुरानो बहाव, सार्वजनिक जग्गाको वास्तविक क्षेत्रफल र त्यस क्षेत्रमा भएका प्लटिङ गतिविधिबारे स्वतन्त्र प्राविधिक अध्ययन आवश्यक रहेको बताएका छन्।
स्थानीय सरोकारवालाहरूले सार्वजनिक जग्गा तथा नदी–खोलाको संरक्षण राज्यको दायित्व भएको उल्लेख गर्दै हनुमन्ते खोलाको धार परिवर्तनसँग सम्बन्धित सम्पूर्ण तथ्य सार्वजनिक गर्न माग गरेका छन्। यदि सार्वजनिक जग्गा निजीकरण गरिएको पुष्टि भए कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ।
स्थानीयका अनुसार यही सार्वजनिक जग्गा हडप्ने उद्देश्यले २०७४ सालतिर हनुमन्ते खोलाको बहाव परिवर्तन गरिएको थियो। उनीहरूले २०२१ सालको नापीनक्सामा देखिएको स्थानभन्दा फरक ठाउँतर्फ खोला मोडिएको दाबी गरेका छन्। हाल २०२१ सालमा हनुमन्ते खोला बग्ने क्षेत्रमा बस्ती नै बसिसकेको छ। खोला फर्काइएकै कारण पहिले सूर्यविनायक नगरपालिकाको बालकोट क्षेत्रमा पर्ने यो भूभाग अहिले मध्यपुर थिमि नगरपालिका वडा नम्बर ३ अन्तर्गत परेको स्थानीयको भनाइ छ।
प्रकाशित: ५ असार २०८३ १९:१८ शुक्रबार