जेन-जी आन्दोलनको क्रममा ध्वस्त संरचनालाई पुनर्जीवन दिन स्थानीय लागिपरेका छन् ।
स्थानीयले सहयोग समिति नै गठन गरेर क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न जगातीका स्थानीय जुटेका हुन् । कार्यालय सञ्चालनमा चाहिने मेच, टेबललगायतका भौतिक संरचना निर्माणमा आर्थिक तथा भौतिक सहयोग गर्न स्थानीय युवाले समिति गठन गरेका हुन् ।
जगातीका स्थानीय कृष्णराम जाकिबञ्जारले ध्वस्त भएको प्रहरी बृत जगाती भक्तपुरको पुनर्स्थापना गर्न आफूहरुले आर्थिक सहयोग संकलन थालेको बताए ।
जाकिबञ्जारकै अध्यक्षतामा बनेको समितिको उपाध्यक्षमा केशव कवां, सचिवमा गोविन्द कार्की र कोषाध्यक्षमा राकेश थापा छन् । यस्तै सदस्यमा जीवन कवां, अमृत घिसिंग र विकृष्ण श्रेष्ठ छन् । सहयोग गर्न चाहनेहरुले उनीहरुलाई सम्पर्क गर्न अनुरोध गरेको गरिएको छ ।
संकलित सहयोग रकम जम्मा गर्न अध्यक्ष र कोषाध्यक्षको नाममा संयुक्त खाता खोल्ने निर्णय पनि आइतबार नै बसेको उपभोक्ता समितिबाट गरिएको छ ।
जेन-जी आन्दोलनको क्रममा महानगरीय प्रहरी वृत जगाती भक्तपुर पनि जलेको थियो । यसअघि भक्तपुर नगरपालिका- ७ का वडा अध्यक्ष उकेश कवांको नेतृत्वमा आएको टोलीले दिनभर सफा गरेको थियो ।
मध्यपुर थिमिका स्थानीय निशुल प्रजापतिले आफूहरुसहितको सयौंको टोलीले बहाखाबजारस्थित महानगरीय प्रहरी वृत मध्यपुर थिमिको सरसफाई गरेको बताए । विशेष गरेर जेन-जी पुस्ता नै यसमा सक्रिय भएको उनले जानकारी दिए ।
आन्दोलनको क्रममा महानगरीय प्रहरी परिसर भक्तपुरबाहेक जिल्लाका दुई वृतमा क्षति पुगेको छ । जिल्ला प्रशाशन कार्यालय भक्तपुरको तथ्यांक अनुसार जिल्लाका ४१ वटा प्रहरी केन्द्रमध्ये भक्तपुर नगरका दुई मात्रै बचेका छन् ।
प्रकाशित: २९ भाद्र २०८२ १९:४४ आइतबार