दोस्रो विश्व ध्यान दिवसको ऐतिहासिक सन्दर्भ पारेर अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ (यूएन) को मुख्यालयमा विशेष कार्यक्रम सम्पन्न भएको छ।
डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रूपमा मनाउने राष्ट्रसंघको घोषणाअनुरूप डिसेम्बर १९ मा मुख्यालयभित्रै दुईवटा महत्वपूर्ण सत्रहरू आयोजना गरिएका हुन्।
उक्त समारोहमा नेपालको मौलिक आध्यात्मिक संस्था ‘जीवन विज्ञान’ का संस्थापकद्वय एलपी भानु शर्मा र रमेश नेपालले विश्वका कूटनीतिज्ञ र विशिष्ट व्यक्तित्वहरूलाई ध्यान गराउँदै यसलाई मानव जीवनको अभिन्न अंग बनाउन विश्व समुदायसँग अपिल गरेका छन्।
‘विश्वव्यापी शान्ति र सद्भावका लागि ध्यान’ विषयक पहिलो सत्रलाई सम्बोधन गर्दै जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले आधुनिक विश्वले भोगिरहेका जटिल चुनौतीहरूको सामना गर्न प्रत्येक व्यक्तिको मन स्थिर हुनुपर्नेमा जोड दिए।
उनले संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रूपमा औपचारिक मान्यता दिनु र मनाउन थाल्नुला वैश्विक चेतनाको ऐतिहासिक क्षण भएको बताए।
शर्माले विश्व शान्तिका लागि अब परम्परागत कूटनीति र नीतिनिर्माण मात्र पर्याप्त नहुने तर्क गर्दै आन्तरिक जागरण, नियमित ध्यान र मानसिक स्वास्थ्यलाई पनि विश्व शान्तिको आधारभूत पूर्वाधारका रूपमा स्वीकार गरिएकोमा प्रसन्नता व्यक्त गरे।
ध्यानको नियमित अभ्यासले मात्र व्यक्तिको आन्तरिक रूपान्तरण सम्भव हुने र यसले अन्ततः विश्वव्यापी शान्ति निर्माणमा निर्णायक भूमिका खेल्ने उनले स्पष्ट पारे।
सम्बोधनका क्रममा संस्थापक शर्माले विश्व समुदायसमक्ष नेपालका तर्फबाट महत्वपूर्ण सन्देशहरू प्रवाह गरेका थिए।
उनले बाह्य शान्तिका लागि पहिले व्यक्तिभित्र आन्तरिक रूपान्तरण अपरिहार्य रहेको बताउँदै नेपाललाई पूर्वीय ज्ञान र आधुनिक विज्ञानलाई जोड्ने ‘सेतु’ का रूपमा विश्वमञ्चमा प्रस्तुत गरे।
शर्माले ध्यानलाई केवल सिद्धान्तमा सीमित नराखी जीवनमा उतार्ने प्रायोगिक रूपान्तरणमा जोड दिँदै नेपालका तर्फबाट विश्वलाई नै आध्यात्मिक जागरणका लागि आह्वान गरे।
साथै, उनले मानसिक स्वास्थ्यलाई अब ‘वैश्विक पूर्वाधार’ का रूपमा विकास गर्नुपर्ने प्रस्ताव समेत राखेका थिए।
यसैगरी, राष्ट्रसंघको मुख्यालयमै आयोजना गरिएको अर्को सत्र ‘जागृत मन: शान्ति, स्वास्थ्य र सद्भावको बाटो’ कार्यक्रममा जीवन विज्ञानका अर्का संस्थापक रमेश नेपालले धारणा राखे।
उनले ध्यानले मानिसको मनलाई सकारात्मक ऊर्जा प्रदान गर्नुका साथै अन्तरनिहित शक्तिलाई जगाउने र क्रियाशील बनाउने बताए।
संस्थापक नेपालले ध्यानको अभ्यासलाई गुफा वा आश्रममा मात्र सीमित नराखी आम मानिसको दैनिक जीवनशैलीसँग जोड्नुपर्नेमा जोड दिए।
यदि ध्यानलाई दैनिक जीवनको हिस्सा बनाउन सकियो भने संसारबाट अशान्ति, कलह र तनावको अन्त्य स्वतः हुने भन्दै उनले ध्यानलाई विश्वव्यापी अभियानका रूपमा विस्तार गर्नु आजको आवश्यकता भएको औंल्याए।
उक्त ऐतिहासिक समारोहमा संयुक्त राष्ट्रसंघका उपमहासचिव (अन्डर सेक्रेटरी जनरल) अटुल खरे, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा तथा जीवन विज्ञान प्रतिष्ठानकी अध्यक्ष देवी शर्मा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा भारत, श्रीलंका, एन्डोरा र मेक्सिको लगायत विभिन्न मुलुकका स्थायी प्रतिनिधिहरूले पनि सहभागिता जनाउँदै विश्व ध्यान दिवस मनाउनुको उद्देश्य र महत्त्वमाथि प्रकाश पारेका थिए।
मानसिक स्वास्थ्य र विश्व शान्तिमा ध्यानको महत्त्वलाई आत्मसात गर्दै संयुक्त राष्ट्रसंघले सन् २०२४ मा डिसेम्बर २१ लाई ‘विश्व ध्यान दिवस’ का रूपमा मनाउने औपचारिक घोषणा गरेको थियो।
प्रकाशित: ६ पुस २०८२ २१:०५ आइतबार