सुनसरी देवानगन्जको कप्तानगन्जमा दुई समूहबिचको विवाद हिंसामा परिणत भएपछि उत्पन्न असहज परिस्थितिलाई साम्य पार्न बुधबार इटहरीमा सामाजिक सद्भाव र्याली निकालिएको छ। र्यालीमा सहभागीले ‘नेपालमा फेरि बुद्ध जन्माइदेऊ, हिंसा होइन, शान्ति चाहिन्छ, जातीय र सामाजिक एकता कायम गरौं’ भन्ने नारा लगाएका थिए। सामाजिक सद्भाव कायम गर्न नागरिक समाज इटहरीको अगुवाइमा र्याली निकालिएको हो।
इटहरीमा जबजब जातीय र धार्मिक सद्भाव बिथोलिन्छ तबतब सद्भाव र्याली हुने गरेको नागरिक समाजका पूर्वअध्यक्ष बद्रीविशाल पोखरेलले बताए। दुई वर्षअघि धरानमा धार्मिक विवादले उग्ररुप लिँदा इटहरीमा सद्भाव र्याली निकालिएको थियो। २०७२ सालमा पनि भारतले नेपालविरुद्द अघोषित नाकाबन्दी गर्दा नागरिक समाजकै अगुवाइमा सद्भाव र्याली निकालिएको थियो।
देवानगन्जको कप्तानगन्ज घटनापछि असहज परिस्थितिलाई सहज बनाउन सर्वत्र चिन्ता बढिरहेका बेला निकालिएको र्यालीपछि कोणसभामा पूर्वमन्त्री रामकुमार सुब्बाले सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक सद्भाव, ऐक्यबद्धता र सामञ्जस्य कायम गरी राष्ट्रिय एकता सुदृढ गर्न सबै लाग्नुपर्ने बताए। नागरिक समाजका अध्यक्ष आरके राईले समाजका विभिन्न समुदायबिच आपसी एकता, सद्भाव र सहिष्णुता कायम राख्न अपील गरे।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा बुधबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले पनि सामाजिक एकता, आपसी विश्वास र सहकार्यलाई थप सुदृढ बनाउन सबैलाई अपिल गरेको छ। हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले सामाजिक सद्भाव कायम गर्न आग्रह गर्दै देवानगन्ज घटनाको निष्पक्ष छानबिन र दोषीउपर कानुनी कारबाही गर्न माग गरेका छन्।
देवानगन्ज घटना छानबिन गर्न सरकारले गठन गरेको समितिका सदस्य यहाँ आइपुगेका छन्। समितिका सदस्ययसमक्ष देवागन्ज घटनाका मृतकलाई सहिद घोषणा गर्न र दोषीलाई कारबाही गर्न पीडित, स्थानीय तहका जनप्रतिनिधि र समुदायका अगुवाले माग गरेका छन्। उनीहरूका अनुसार सुरुमै सरकारी नियमनकारी निकायबिच प्रभावकारी समन्वय र संवाद भएको भए यो स्तरको घटना हुने थिएन।
घटना छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा गठित समितिका सदस्यले बुधबार मृतकका परिवार, घाइते, स्थानीय तहका जनप्रतिनिधि र समाजका अगुवासँग भेटी जानकारी लिएको छ। मृतक ओमप्रकाश मेहताका बाबु कृष्णु मेहताले आफूले परिवारको साहरा नै गुमाएकाले सरकारलाई गम्भीर भइदिन आग्रह गरे। उनले छानबिन समितिका सदस्यसमक्ष भने, ‘मेरी श्रीमती पनि श्वासप्रश्वासको रोगी छन्। घरको जेठो छोराकै गोली लागेर मृत्यु भएपछि अब मेरो बाँच्ने साहरा नै छैन।’
उनले सरकारले छोरालाई सहिद घोषणा र दोषीलाई कारबाही गरे मात्र आफ्नो मन बुझ्ने बताए।
दुई पक्षबिच आइतबार राति भएको झडपपछि प्रहरीको गोली लागेर देवानगन्ज गाउँपालिका–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो। घटनामा कम्तीमा २१ जना घाइते भएका छन्, जसमा दुई जनाको अवस्था गम्भीर छ।
गाउँपालिका अध्यक्ष वेचन मेहताले घटनालाई राजनीतीकरण गर्न नहुने बताए। उनले भने, ‘हामी पहिलादेखि मुस्लिम र हिन्दु मिलेर बसेकै हो। दुई चारजनाका कारण नराम्रो घटना भयो। त्यस्ता व्यक्तिमाथि छानबिन र कारबाही हुनुपर्छ।’
घटनामा घाइते भएका हरेराम यादवका भाइ पवनले दोषीलाई हदैसम्मको कारबाही भए विश्वासको वातावरण बन्ने सुनाए।
छानबिन समितिका संयोजक थापाले घटनास्थल र पीडितपक्षबाट बहुआयमिक ढंगले सूचना प्राप्त भइरहेकाले अहिले नै दोषी यकिन गर्न गाह्रो हुने बताए।
जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत सन्तोष पोखरेलले बुधबार दिनभर कुनै अप्रिय घटना नभएको र सबै पक्ष सद्भाव कायम गर्न लागिपरेको बताए। जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वदलीय बैठक बसेको छ। बैठकमा सुनसरीका स्थानीय तहका जनप्रतिनिधि, संघीय सांसद, राजनीतिक दलका नेता लगायतको सहभागिता छ।
देवानगन्जको कप्तानगन्जमा रहेको मन्दिरमा डिजे ठुलो आवाजमा बजाएको विषयलाई लिएर दुई समूहका युवाबिच भएको विवाद झडपमा परिणत भएपछि अप्रिय परिस्थिति उत्पन्न भएको हो।
प्रकाशित: १४ श्रावण २०८३ ०६:३३ बिहीबार