समाज

घरेलु बालश्रमिक: पढाइ कम श्रम बढ

उमेरले १४ वर्ष। बुबा बितेको पत्तो छैन। आमा अघिल्लो वर्षको मंसिर ६ गते बितिन्। बुबाआमाको सहारा गुमाएको अवस्थामा उनका दाजु र दिदी पनि कलिलै छन्। बुबाआमा बितेसँगै दाजु र दिदी पनि धरानतिर होटलमा काम गर्न हिँडे। उनी एक्लै घरमा बस्न सक्ने अवस्था भएन। दाजुदिदीसँगै सहारा लिएर केही महिना बसिन् तर उनलाई पढाइले पिरोल्न थाल्यो। ‘जसरी पनि पढाइ पूरा गर्ने धोको थियो, अहिले पढिरहेको छु,’ उनले भनिन्। उनी अहिले कक्षा ७ मा पढ्छिन्।

ताप्लेजुङको ढुंगेसाँघु घर भएकी ती बालिका आफन्तको सम्पर्कबाट इटहरी आइपुगेकी छन्। उनी यहाँ आएको एक वर्ष बित्यो। उनको उद्देश्य एउटै थियो, पढाइलाई निरन्तरता दिनु तर यो उमेरमा उनको ठुलो हिस्सा घरायसी काममै बित्छ। बिहान उठेदेखि भाँडा माझ्ने, खाना पकाउनेदेखि घरका अन्य काममा सघाउने उनको दैनिकी बनेको छ। यद्यपि घरेलु कामको बोझबिच पनि पढाइप्रतिको उनको चाहना भने कमजोर भएको छैन।

घरेलु कामसँगै उनको पढाइ पनि चलिरहेको छ। उनी विद्यालय नियमित जान्छिन्। विद्यालयमा पूरा समय बिताउँछिन्। घर फर्किएपछि पनि दैनिक एक–दुई घण्टा पढ्ने गर्छिन्। गृहकार्य पनि नियमित गर्छिन्। उनी कक्षामा मोनिटरको जिम्मेवारीमा समेत छन्।

शैक्षिक रूपमा पनि उनी कमजोर विद्यार्थी होइनन्। आफ्नो कक्षामा उनी प्रायः पहिलो १० स्थानभित्र पर्ने बताउँछिन्। ‘मलाई सबैभन्दा सजिलो लाग्ने विषय नेपाली हो। गणित भने अलि गाह्रो लाग्छु,’ उनले भनिन्।  

अतिरिक्त क्रियाकलापमा पनि उनी प्रायः सहभागी हुन्छिन्। प्रतियोगिता जित्ने आत्मविश्वास भने उनमा कम छ। भविष्यमा उनी ‘जागिरे’ बन्न चाहन्छिन्।

उनीजस्तै अर्की घरेलु बालश्रमिकको उमेर १५ वर्ष पुग्यो। उनी बिहानको मिठो निद्रा र सुनौलो सपना त्यागेर घरको काममा व्यस्त हुन्छिन्। विद्यालय जाने बेला हातमा किताब र कापी हुन्छन्। विद्यालयबाट फर्किएपछि फेरि घरायसी काममै व्यस्त। ती बालिका बिहानभर घर सफासुग्घर राख्ने अनि भात पकाउनेदेखि भाँडा माझ्ने गर्छिन्। विद्यालयबाट फर्किएपछि पनि बिहानकै काम दोहोर्‍याउने गर्छिन्। यसबाहेक बेलाबेला तरकारी किनेर ल्याउनेदेखि लुगा धुने काम उनी गर्छिन्। उनी पाँच वर्षदेखि घरेलु श्रमिकका रूपमा काम गर्दै आएकी छन्।

इटहरीको एक घरमा बस्दै आएकी उनी कक्षा ९ मा अध्ययनरत छिन्। दैनिक पाँच घण्टा घरायसी काममा बिताउने गरे पनि उनको पढाइ भने रोकिएको छैन। काम गरेबापत उनले पारिश्रमिक पाउँदिनन्। भारतमा जन्मिएकी ती बालिकाका बुबाआमाबिच सम्बन्ध राम्रो नभएपछि इटहरी आएर अर्काको घरमा घरेलु श्रमिकका रूपमा बस्न बाध्य भएकी हुन्। उनकी आमा मावली घरमा बस्छिन्। आफन्तको सम्पर्कमार्फत उनी इटहरीमा रहेको घरमा आइपुगेकी हुन्। यहाँ आउनुको मुख्य उद्देश्य पढाइलाई निरन्तरता दिनु रहेको ती बालिका बताउँछिन्।

घरेलु काममा संलग्न भए पनि उनी विद्यालयमा नियमित छिन्। उनी पूरा समय विद्यालयमा बिताउँछिन् र घर फर्किएपछि काम पूरा गरेर गृहकार्यसमेत गर्छिन्। विद्यालयमा शिक्षक तथा सहपाठीबाट अन्य विद्यार्थीसरह व्यवहार र सहयोग पाउने गरेको उनले बताइन्। ‘नेपाली सजिलो लाग्छ, अंग्रेजी अलि गाह्रो,’ उनले भनिन्।

कक्षामा उनको शैक्षिक उपलब्धि सामान्यतः ११औंदेखि २०औं स्थानभित्र रहने गरेको छ। विद्यालयको बाल क्लबमा समेत उनी आबद्ध छिन्। अतिरिक्त क्रियाकलापमा पनि उनको सहभागिता रहने गरेको छ। उनलाई बालअधिकारका विषयमा सामान्य जानकारी छ। विभिन्न कार्यक्रम तथा तालिममार्फत बालअधिकारबारे जानकारी पाएको उनी बताउँछिन् तर बालअधिकारका विभिन्न क्षेत्र, कानुनी अधिकार तथा बालश्रमसँग सम्बन्धित विषयमा भने उनको जानकारी पूर्ण छैन। ‘बालअधिकारबारे केही कुरा थाहा छ,’ उनले भनिन्, ‘तर सबै कुरा थाहा छैन।’

बालश्रममा संलग्न बालबालिकाका लागि शिक्षा र संरक्षणसँगै आफ्ना अधिकारबारे जानकारी हुनु पनि महत्त्वपूर्ण मानिन्छ। उनको अवस्थाले पनि बालबालिकालाई विद्यालयमा जोडिराख्ने प्रयाससँगै उनीहरूलाई आफ्ना अधिकारबारे सचेत बनाउनु आवश्यक रहेको देखाउँछ।

भविष्यमा के बन्ने भन्नेबारे उनले अहिलेसम्म निश्चित योजना बनाएकी छैनन्। अहिले उनको ध्यान भने पढाइमा छ। कक्षा ९ मा अध्ययनरत उनी नियमित विद्यालय जान पाएकोमा सन्तुष्ट देखिन्छिन्। उनका लागि शिक्षा निरन्तरता एउटा महत्त्वपूर्ण अवसर हो। तर विद्यालय जान पाउनु मात्र पर्याप्त हुँदैन। उनलाई सुरक्षित वातावरण, उमेरअनुकूल जीवन, श्रमबाट संरक्षण र आफ्ना अधिकारबारे पूर्ण जानकारी पनि आवश्यक हुन्छ।

इटहरीमै बसेर बालश्रमिकका रूपमा काम गर्ने १३ वर्षीया बालिकालाई पनि बिहान विद्यालय जाने समय किताबकापी बोकेर हिँड्न हतार हुन्छ। विद्यालयबाट फर्किएपछि उनको दैनिकी भाँडा माझ्ने, खाना पकाउने र घरका लागि आवश्यक सामान किनमेल गर्नेसम्मका काम गर्नुपर्छ। घरको काम सकेर फुर्सद पाउँदा शरीर थाकिसकेको हुन्छ। त्यसपछि किताब खोलेर पढ्ने इच्छा हुँदाहुँदै पनि उनी पढ्न सक्दिनन्। ‘घरको काम सकेपछि धेरै थाक्छु,’ उनले भनिन्, ‘त्यसैले घरमा बसेर लेखपढ गर्न सक्दिनँ।’

उनी एक वर्षदेखि घरेलु बालश्रमिकका रूपमा काम गर्दै आएकी छन्। कामसँगै उनी कक्षा ७ मा अध्ययनरत छिन्। घरेलु कामको बोझ भए पनि उनको विद्यालय जाने क्रम भने नियमित छ। उनी विद्यालयमा पूरा समय बस्छिन्। शिक्षकहरूले उनलाई पढाइमा प्रोत्साहन गर्ने र सहपाठीहरूले पनि सहयोग गर्ने गरेको उनले बताइन्।

विद्यालयमा उनको सहभागिता पनि सामान्य विद्यार्थीको जस्तै छ। उनलाई कक्षामा कहिलेकाहीं मोनिटरसमेत बनाइन्छ। अतिरिक्त क्रियाकलापमा पनि उनी प्रायः सहभागी हुने गर्छिन्। नेपाली उनको मन पर्ने र सहज लाग्ने विषय हो। गणित उनलाई केही कठिन लाग्छ।

यसले विद्यालयमा नियमित उपस्थित भए पनि घरायसी श्रमको बोझले उनको अध्ययनको गुणस्तरमा असर पारिरहेको देखाउँछ। विद्यालयमा शिक्षकको प्रोत्साहन र सहपाठीको सहयोग पाए पनि घर फर्किएपछि अध्ययनका लागि पर्याप्त समय र ऊर्जा नहुनु उनको शिक्षाको निरन्तरताका लागि चुनौती बनेको छ। घरेलु श्रमसँगै उनले मानसिक तनावसमेत भोग्दै आएको बताएकी छन्।

 आफ्नो समस्याबारे धेरै खुल्न नचाहे पनि घरको काम, पढाइ, दैनिक जिम्मेवारी अनि बाबुआमाको बेमेलले आफूलाई तनाव हुने गरेको बताइन्। भविष्यमा उनी जागिरे बन्न चाहन्छिन्। अहिले नै कुन क्षेत्रमा जाने भन्ने निश्चित नभए पनि पढाइलाई निरन्तरता दिएर भविष्यमा रोजगारी गर्ने उनको इच्छा छ।

इटहरीमा घरेलु श्रमिकका रूपमा काम गर्दै आएका अधिकांश बालबालिका आफन्तकै घरमा, त्यसमा पनि हुनेखाने तथा सम्पन्न परिवारसँग बस्दै आएका छन्। केही सीमित बालबालिका भने विशुद्ध रूपमा घरेलु बालश्रमिकका रूपमा घरमा बसेर काम गरिरहेका छन्।

भारतसहित नेपालका १४ जिल्लाबाट इटहरी आएर बसेका २३ बालबालिकामाथि गरिएको सूक्ष्म अध्ययनले पछिल्लो समय उनीहरूले विद्यालय जाने र पढाइलाई निरन्तरता दिने अवसर भने पाइरहेको देखाएको छ तर उनीहरूले पाउनुपर्ने शैक्षिक सहजता र बालमैत्री वातावरणमा भने अझै कमी देखिन्छ। यहाँ सुनसरीसहित बाँके, धनकुटा, ताप्लेजुङ, मकवानपुर, मोरङ, तेह्रथुम, सिरहा, हुम्ला, रामेछाप, झापा, भोजपुर, रौतहट र भोजपुरबाट बालबालिका घरेलु श्रमिकका रूपमा कामसँगै पढ्दै आएका छन्।

यसरी पढेर पढ्नेमा कक्षा ६ देखि १० सम्म अध्ययनरत बालबालिका छन्। बढी मात्रमा बालिका आएर घरेल बालश्रमिकको रूपमा बस्ने गरेको पाइएको छ।

इटहरीमा २० वटा वडा छन्। वडा ४, ६, ८ र ९ मा बढी मात्रमा घरेलु बालश्रमिक छन्। यी वडाका घरेलु बालश्रमिक इटहरीको कविर, कचना र जनता माध्यमिक विद्यालयमा अध्ययनरत छन्। अध्ययनमा सहभागी अधिकांश बालबालिका नियमित रूपमा विद्यालय जाने, पूरा समय कक्षामा बस्ने र गृहकार्यसमेत नियमित गर्ने अवस्थामा छन्। कतिपयको शैक्षिक अवस्था त निकै लोभलाग्दो देखिन्छ।

विद्यालयमा शिक्षकबाट प्रोत्साहन पाउने, सहपाठीबाट सहयोग प्राप्त गर्ने र अतिरिक्त क्रियाकलापमा समेत सहभागी हुने बालबालिकाको संख्या उल्लेख्य छ। यसले घरेलु श्रममा संलग्न भए पनि उनीहरूको पढ्ने चाहना र क्षमता कमजोर नभएको कविर माध्यमिक विद्यालय प्रधानाध्यापक मिनु न्यौपाने बताउँछिन्।

 बालश्रमिकले पढ्ने अवसर पाउनु मात्रै पर्याप्त छैन। लामो समयसम्म घरेलु काममा संलग्न रहनुपर्ने अवस्थाले बालबालिकाको मानसिकता, आत्मविश्वास र समग्र मनोवृत्तिमा नकारात्मक असर पार्ने जोखिम देखिन्छ। विद्यालयबाट फर्किएपछि पनि राति अबेरसम्म घरायसी काम गर्नुपर्ने, आफ्नै उमेरका बालबालिकाले पाउने खेल्ने, आराम गर्ने र सिर्जनात्मक गतिविधिमा सहभागी हुने समय सीमित हुने अवस्थाले उनीहरूको बाल्यकाललाई प्रभावित गरिरहेको छ।

विद्यालयको ढोका खुले पनि बालश्रमिक बालबालिकाका लागि सिकाइ र बाल्यकालको सहज संसार अझै पूर्ण रूपमा खुलेको छैन। पढाइमा नियमित देखिनु सकारात्मक पक्ष भए पनि उनीहरूले कस्तो वातावरणमा पढिरहेका छन्, दैनिक कति समय श्रम गरिरहेका छन् र त्यसको उनीहरूको मानसिक तथा सामाजिक विकासमा कस्तो प्रभाव परिरहेको छ भन्ने विषयलाई पनि उत्तिकै गम्भीरताका साथ हेर्नुपर्ने कचना माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिशंकर घिमिरेले बताए।

सामान्यतया शारीरिक, मानसिक, बौद्धिक र संवेगात्मक हिसाबले वयस्कसरह भइनसकेका सम्पूर्ण मानिसलाई बालबालिका हुन भनेर मान्न सकिन्छ। जसलाई शिक्षा, स्वास्थ्य, पालनपोषण र संरक्षणको आवश्यकता पर्छ। बालबालिकासम्बन्धी ऐन २०४८ र बालश्रम निषेधित र नियमित ऐन २०५६ ले १६ वर्ष उमेर पूरा नगरेकालाई बालबालिका भनी परिभाषित गरेका छन् र दुवै ऐनले १४ वर्ष उमेर पूरा नगरेका बालबालिकालाई श्रमिकका रूपमा काम लगाउन निषेध गरेका छन्।

त्यसो त १५ वर्षअघि इटहरीका ३१ जना घरेलु बालश्रमिकमाथि नै सूक्ष्म अनुुसन्धान गरी ‘घरेलु बालश्रमिकको शिक्षामा पहुँच’ बारे गरिएको अध्ययनमा १० देखि १४ वर्ष उमेर समूहका बढी घरेलु श्रममा थिए। उनीहरूको आर्थिक पारिवारिक पृष्ठभूमिलाई आधार मान्दा २३ बालबालिकाको खाना लाउन पुग्ने गरेको थियो भने आठ जनाको भने खानलाउन पुग्दैनथ्यो।

 त्यतिबेला घरेलु बालश्रमिक २६ जनाले नियमित होमवर्क गर्ने गरेको पाइएको थियो। त्यो सकारात्मक पक्ष थियो। विद्यालयमा अध्ययनरत घरेलु बालश्रमिकमध्ये नेपाली विषय सजिलो लाग्नेको संख्या २२ थियो। गणित, अंग्रेजी, सामाजिक, स्वास्थ्यजस्ता विषय सजिलो लाग्नेको संख्या न्यून थियो।

त्यतिबेला छनोटमा परेका घरेलु बालश्रमिकमा २० जना सधै उत्तीर्ण हुने, सात जना एकपटक अनुत्तीर्ण हुने र दुई जना दुई पटक अनुत्तीर्ण हुने गरेका थिए। घरेलु बालश्रमिकले भोगेका समस्यालाई हेर्दा अधिक श्रम गर्न परेको अनुभव गर्ने ११, मानसिक तनाव खेप्नुपर्ने नौ, अध्ययनमा समस्या हुने सात र घरायसी दुव्र्यवहार खेप्नुपरेका चार जना थिए। अहिले र १५ वर्षअघिको अवस्था भने आकाश–पातालको फरक छ। त्यो बेलाजस्तो अहिले समस्या र दुव्र्यवहार घरेलु बालश्रमिकले खेप्नुपरेको छैन। कामको बोझ भने छँदै छ।

प्रकाशित: २० भाद्र २०८३ १३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App