सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मालगायत तीन जना भ्रष्टाचार मुद्दाको फैसला बदर गरेपछि बुधबार थुनामुक्त भएका छन् ।
कर फर्छ्यौट आयोग–२०७१ का पदाधिकारी तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्य द्वय उमेशप्रसाद ढकाल र चुडामणि शर्मा साधारण तारेखमा छुटेका हुन् । उनीहरु विशेष अदालतको फैसला अनुसार एक वर्ष अघिदेखि डिल्लीबजार जेलमा रहेका थिए ।
२०८० असार ५ मा विशेष अदालतले फैसला गर्दै कर फर्छ्यौट आयोगमा ६ अर्ब १६ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको थियो । साथै तीन जनालाई जनही ९ वर्ष कैद सजाय ठहर गरेको थियो । अदालतले ठहर गरेको रकम बुझाउन नसकेपछि थुनामा गएर उनीहरुले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराएका थिए । यो मुद्दा फैसलाको क्रममा त्रुटि भेटिएकाले फेरि सुरु अदालतमै पठाउने आदेश सर्वोच्चले गरेको हो ।
विशेष अदालत काठमाडौंबाट कर फर्छ्यौट आयोगको भ्रष्टाचार मुद्दा फैसलामा गम्भीर त्रुटि भएको भन्दै सर्वोच्चले मंगलबार बदर गर्ने फैसला गरेको छ । न्यायाधीशहरू शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले विशेष अदालतबाट यस अघि भएको फैसला बदर गर्दै पुनः विशेष अदालतमै सुनुवाइमा पठाउने आदेश गरेको हो ।
सर्वोच्चले साधारण तारेखमा छाड्नसमेत आदेश दिएको छ । तिन जनालाई साउन १२ गते उपस्थित हुने गरी विशेष अदालतले बुधबार साधारण तारेखमा छोडेको अदालतका उपरजिष्ट्रार कृष्णशरण लामिछानेले जानकारी दिए । उनीहरु २०८१ जेठ ३२ देखि जेलमा सजाय कट्टा गरिरहेका थिए । ‘फैसलामा प्राकृतिक न्यायको सिद्धान्त तथा प्रमाण संकलन र मूल्यांकनको दृष्टिबाट गम्भीर कानुनी त्रुटि देखिएकाले बदर गरिएको’ सर्वोच्चले मंगलबार गरेको फैसलामा उल्लेख गरेको छ ।
प्रकाशित: २५ असार २०८२ १८:१७ बुधबार