नेपाल भाषाका जनकवि एवम् प्रतिष्ठित साहित्यकार दुर्गालाल श्रेष्ठको मंगलबार काठमाडौंको शोभा भगवती घाटमा अन्तिम संस्कार गरिएको छ। ९३ वर्षको उमेरमा बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएका श्रेष्ठको परम्परागत विधिअनुसार अन्त्येष्टि गरिएको हो।
दिवंगत श्रेष्ठको अन्तिम बिदाइका क्रममा निकालिएको शवयात्रामा राजनीतिक दलका शीर्ष नेता, मन्त्री, साहित्यकार, कलाकर्मी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
शोभा भगवती पुगेर नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, गृहमन्त्री सुधन गुरुङ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोललगायतका उच्च पदस्थ व्यक्तित्वहरूले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।
विगत ६ दशकदेखि साहित्य सिर्जनामा अनवरत सक्रिय रहेका श्रेष्ठले नेपाल भाषा र नेपाली भाषा दुवैमा गीत, कविता तथा साहित्यका विभिन्न विधामा विशिष्ट योगदान पुर्याएका छन्।
साहित्य क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै करिब दुई दशकअघि नेपाल भाषा परिषद्ले उनलाई ‘जनकवि’ को उपाधि प्रदान गरेको थियो। यस्तै, उनी वि.सं. २०६७ (सन् २०१०) को प्रतिष्ठित ‘जगदम्बा श्री पुरस्कार’ बाट समेत सम्मानित भएका थिए।
प्रकाशित: २ भाद्र २०८३ १९:३३ मंगलबार