समाज

लाङटाङ र गोसाइँकुण्ड पदयात्राका लागि खुला

लाङटाङ, क्यान्जिन र गोसाइँकुण्ड क्षेत्र पदयात्राका लागि खुला रहेका छन्। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले क्षतिग्रस्त बनाएको बेत्रावतीमा बेलीब्रिज जडान भएपछि लाङटाङ क्षेत्र पुग्न दुई वैकल्पिक पदमार्ग उपलब्ध भएको ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)ले जनाएको छ।

पहिलो विकल्पअनुसार काठमाडौंं हुँदै त्रिशूली र बेत्रावतीबाट धुन्चे वा ठूलोस्याप्रु पुगेर बम्बु, लामाहोटेल, लाङटाङ हुँदै क्यान्जिनसम्म पदयात्रा गर्न सकिनेछ। यसैगरी, दोस्रो विकल्पमा काठमाडौं–चिसापानी–हेलम्बु–थारेपाटी–घोप्टे–गोसाइँकुण्ड– ठूलोस्याप्रु–बम्बु–लामा होटल–लाङटाङ हुँदै क्यान्जिन पुग्न सकिने टानले जनाएको छ।

टानले पदयात्री, पर्यटक तथा सम्बन्धित पर्यटन व्यवसायीलाई यात्रा सुरु गर्नुअघि पदमार्गको पछिल्लो अवस्था बुझ्न र आवश्यक सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ।

प्रकाशित: ६ कार्तिक २०८३ ०६:०८ शुक्रबार