लगातारको वर्षाले कर्णालीको जाजरकोट र लुम्बिनीको रोल्पामा आएको पहिरोले स्थानीय प्रभावित भएका छन्। जाजरकोटमा एक र रोल्पामा १० जनाले ज्यान गुमाएका छन्। सयौं नागरिक गाउँबाट विस्थापित भएर पालमुनि बस्नुपर्ने बाध्यता भएको छ।
एक जनाको मृत्यु भएको छ भने जाजरकोटमा पहिरोले नौ जना घाइते भएको छन्। पहिरोमा मुत्यु हुनेमा ५२ वर्षका केदार कार्कीको थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा मृत्यु भएको थियो। तीनजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा भेरी नगरपालिका–२ थारुल्लाका ५४ वर्षकी उमासिंह खत्री, ७० वर्षका भीमबहादुर कार्की, ८७ वर्षकी रती खत्री रहेका छन्। अहिले जाजरकोटमा पहिरोमा हराइरहेकाहरूको खोज तथा उद्धार गर्न र विस्थापित परिवारका लागि लागि प्रशासनसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित सुरक्षा जनशक्ति परिचालन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
अविरल वर्षाका कारण पहिरोको जोखिम बढेपछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका करिब ६०/७० घरपरिवारका एक सय ५० देखि २ सय स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
पहिरोको जोखिममा रहेका स्थानीयवासीलाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा सुरक्षित रूपमा बसोबासको व्यवस्था गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार झ्यालीखेत डाँडाबाट १६ जना, चिसापानीबाट २० जना, राउटेरे डाँडाबाट १५ जना र रिसाङ फारुलाबाट एक सय ४९ जनालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो। विभिन्न जोखिमयुक्त क्षेत्रबाट गरी दुई सयजनालाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ।
पहिरो पीडितलाई स्वास्थ्य शिविर
जाजरकोटको भेरी नगरपालिका–२ रिसाङस्थित त्रिभुवन आधारभूत विद्यालयमा बाढी तथा पहिरो प्रभावित स्थानीयवासीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटको आयोजना तथा कर्णाली प्रदेश प्रहरी अस्पताल, सुर्खेतको समन्वयमा सञ्चालन गरिएको शिविरमा ८५ जना पहिरो प्रभावित स्थानीयवासीको स्वास्थ्य परीक्षण गरिएको हो।
शिविरमा स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। बाढी तथा पहिरोका कारण प्रभावित स्थानीयवासीलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो।
त्यस्तै रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा गएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी रहेको छ।
घटनास्थलमा शव भेटिएका पाँचजनामा १८ वर्षीया शान्ति पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनरखी पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८५ वर्षीया हस्तकला रोका मगर रहेको प्रहरीले जनाएको छ। प्युठानको स्वर्गद्वारी नगरपालिका तथा माण्डवी गाउँपालिकास्थित माडी खोलाको किनारामा बेपत्ताहरूको शव फेला परेको थियो, जसमा नौ वर्षीय असिम पुन, ३८ वर्षीया जुनकुमारी पुन र ५ वर्षीय अशोक पुनको पहिचान खुलेको छ भने दुईजनाको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
पहिरोमा परी सोही ठाउँ बस्ने अन्दाजी २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगर घाइते छन्। उनीहरू दुवैलाई स्वास्थ्य चौकी थवाङबाट थप उपचारका लागि बुटवलतर्फ पठाइएको छ। लगातार वर्षाका कारण लेदोसहितको पहिरो आइरहेकाले उद्धार कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ।
कर्णाली सरकारले दियो राहत
कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरोपीडित परिवारलाई राहत सामग्री पठाएको छ। प्रदेश सरकारले आइतबार नै खाद्यान्नसहित आवश्यक बन्दोबस्तीका सामग्री प्रभावित क्षेत्रमा पठाएको हो।
एक सय ५० थान त्रिपाल, कम्बल तीन सय ५० थान, ब्लांकेट एक सय ८५ थान, टेन्ट २० सेट, पिफर्म, प्लास्टिक, चार क्विन्टल चामल, एक सय प्याकेट चाउचाउ र चिउरा पठाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतका सचिव लक्ष्मीकुमार विकले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटबाट माग भई आएअनुरूप राहत सामग्री पठाइएको कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालय सुर्खेतले जनाएको छ।
प्रकाशित: २ भाद्र २०८३ ११:१२ मंगलबार