चुमनुब्री गाउँपालिका–७ छेकम्पारको चौरीखर्क पारी जमिन भासिएर आएको पहिरोका कारण बुढीगण्डकी नदीको बहाव केही समय प्रभावित भएको छ।
सोमबार बिहान खोला छेउको जमिन भासिएर रुखसहितको माटो नदीमा खसेपछि केही समय नदीको बहाव रोकिएको हो।
स्थानीयका अनुसार पहिरो माथिबाट ठूलो भू–भाग भासिएर नदीतर्फ खसेको थियो। पहिरोका कारण बुढीगण्डकी पूर्णरूपमा लामो समय थुनिएको नभई केही समयका लागि नदीको बहाव प्रभावित भएको बताइएको छ।
चुमनुब्री गाउँपालिका–७ का वडा अध्यक्ष निमा लामाका अनुसार अहिले नदीको बहाव खुलिसकेको छ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले घटनास्थलतर्फ टोली पठाएर अवस्था बुझ्दा तत्काल कुनै समस्या नरहेको जानकारी आएको उनले बताए।
‘खोलाबाट पहिरो आएको भन्दा जमिन भासिएर रुखसहितको माटो नदीतर्फ खसेको हो। केही समय नदीको बहाव रोकिएको हुन सक्छ, तर अहिले नदी खुलिसकेको छ र समस्या छैन,’ वडा अध्यक्ष लामाले भने।
उनका अनुसार घटनास्थल आसपास तत्काल मानवीय क्षति हुने अवस्था नरहेको भए पनि बुढीगण्डकी नदीको तल्लो तटीय क्षेत्रमा रहेका बस्तीलाई भने सावधानी अपनाउन आवश्यक छ।
विशेषगरी बुढीगण्डकी नदीको बहावसँगै धार्चे गाउँपालिका, आरुघाटलगायतका तल्लो तटीय क्षेत्रमा पर्ने बस्तीहरूलाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै सचेत रहन आग्रह गरिएको छ।
नदीमा पुनः पहिरो खस्ने वा पानीको बहावमा परिवर्तन आउन सक्ने भएकाले नदी किनारमा नजान स्थानीयवासीलाई आग्रह गरिएको छ।
वडा अध्यक्ष लामाका अनुसार छेकम्पार–चौरीखर्क क्षेत्रमा भएको घटनाबाट हालसम्म कुनै मानवीय तथा भौतिक क्षति भएको छैन।
घटनास्थल आसपास खेतीपातीका लागि जाने स्थानीयहरू रहने भए पनि माथिल्लो बस्ती भने नदीभन्दा केही गहिरो तथा अलग स्थानमा रहेकाले तत्काल मानवीय क्षतिको सम्भावना नरहेको लामाको भनाइ छ।
प्रकाशित: १५ भाद्र २०८३ १२:२३ सोमबार