पोतमारा जलविद्युत् आयोजनामा बाढीसहितको पहिरोले क्षति गरेको छ। कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका ७ स्थित पाँच सय किलोवाट क्षमताको पोतमारा साना जलविद्युत् आयोजना पुनर्निर्माण सम्पन्न नहुँदै फेरि इन्टेक र बाँधमा क्षति पुगेको हो।
बिहीबार साँझको वर्षापछि आएको बाढीसहितको पहिरोका कारण जलविद्युत् आयोजनाको इन्टेक र बाँधमा क्षति भएको छ।
‘लामो समयको प्रयासपछि आयोजनाको काम अन्तिम चरणमा थियो, फेरि इन्टेक बगेको छ,’ कालीकोट वितरण केन्द्र प्रमुख हरेन्द्र राय यादवले भने, ‘बाढीले आयोजनाको इन्टेकमा पूर्ण क्षति पुर्याएको छ। सो पुनर्निर्माण भएपछि विद्युत् बाल्ने काम हुन्छ।’
जिल्लामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जोडिए पनि वैकल्पिक व्यवस्था गर्न उक्त आयोजना आवश्यक पर्ने भएकाले यसलाई पुनःसञ्चालनका लागि पहल गरिएको थियो। नेपाल विद्युत् प्राधिकरणले ठेक्का प्रक्रिया अगाडि बढाएर मर्मतको काम गरिरहेको थियो।
प्रकाशित: १९ भाद्र २०८३ १०:२५ शुक्रबार