समाज

सुक्खा पहिरोमा एक्साभेटरसहित चालक पुरिए, सहचालक घाइते

मुगुको खत्याड गाउँपालिकामा सडक निर्माणका क्रममा सुक्खा पहिरो खस्दा एक्साभेटरसहित चालक पुरिएका छन् भने सहचालक घाइते भएका छन्।

सोमबार बिहान करिब ८ः३० बजे खत्याड गाउँपालिका–११ स्थित बिराखोलामा मुगु–रारा भित्री सडकखण्डको बेलिब्रिज पुल जोड्ने नयाँ सडक निर्माणका क्रममा माथिबाट सुक्खा पहिरो खस्दा एक्साभेटरसहित चालक पुरिएका हुन्।

जिल्ला प्रहरी कार्यालय मुगुका रविराज थपलियाका अनुसार पहिरोमा बा ३ क ३२७६ नम्बरको एक्साभेटर र त्यसका चालक बझाङ घर भएका २४ वर्षीय विमल बाग पुरिएका छन्। उनको विस्तृत ठेगाना खुल्न सकेको छैन।

बेलिब्रिज पुलसँग सडक जोड्न एक्साभेटरले सडक कटान गरिरहेको समयमा माथिबाट अचानक पहिरो खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा एक्साभेटरका सहचालक मुगुको सोरु गाउँपालिका–१ का २२ वर्षीय विनय मल्ल घाइते भएका छन्। एक्साभेटरबाहिर बसेर माथिबाट ढुंगा खस्ने सम्भावना हेर्दै गरेका मल्ललाई अचानक खसेको ढुंगाले हात र खुट्टामा चोट पुर्‍याएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मल्लको अवस्था सामान्य रहेको र उनी बोल्न सक्ने अवस्थामा छन्। पहिरोमा पुरिएका चालक बागको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। इलाका प्रहरी कार्यालय रातापानीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक निबन्ध बुढाको नेतृत्वमा ६ जना र प्रहरी चौकी माझचौरबाट प्रहरी सहायक निरीक्षक आनन्दकुमार प्याकुरेलको नेतृत्वमा ७ जना गरी १३ जना प्रहरी घटनास्थलमा खटिएका छन्।

प्रहरी टोलीले पहिरो पन्छाएर एक्साभेटरसहित पुरिएका चालकको उद्धार कार्य जारी राखेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ आश्विन २०८३ ११:०९ सोमबार