समयमै उचित न्यायिक प्रक्रिया नहुँदा त्यसको असर व्यक्तिका साथै सम्बन्धित देशको राष्ट्रिय अर्थतन्त्रमा पर्ने गरेको विज्ञहरूले औंल्याएका छन्। ‘महिला हिसाविरुद्धको सोह्रदिने अभियान’ का अवसरमा युएन वुमन र महिला बालबालिका तथा लैंगिक अल्पसंख्यक मन्त्रालयद्वारा आयोजित कार्यक्रमका विज्ञहरूले यस्तो औंल्याएका हुन्।
जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार नेपालमा महिला हिंसामा परेका पीडितमध्ये ५८ प्रतिशतले हिंसाका बारेमा कसैलाई भन्दैनन् भने २ प्रतिशतले मात्र प्रहरीसमक्ष उजुरी दिने गरेका छन्। तीमध्ये कतिजनाले न्याय र क्षतिपूर्ति पाए भन्ने यकिन तथ्यांक छैन। नेपालमा १५ देखि ४९ वर्षका ८२ लाख ३० हजार महिला हिंसामा पर्ने गर्छन्।
हिंसापीडितको न्यायमा पहुँच नपुग्दा आयमूलक काममा सहभागी महिला प्रभावित बनेका छन्। जीवनस्तर सर्वेक्षणअनुसार नेपाली महिलाको दैनिक सरदर आय ५ सय ९६ रुपैयाँ छ। रोगको विश्वव्यापी भारको तथ्यांकअनुसार प्रतिवर्ष ५ सयजनाको स्वास्थ्यमा असर पर्छ।
न्यायमा पहुँच नपुग्दा नेपालले चुकाउनुपरेको मूल्यको स्थितिका विषयमा प्रस्तुति दिँदै संयुक्त राष्ट्रसंघ नेपालका डा. तीर्थमान तामाङले महिला हिंसापीडितले समयमै न्याय नपाउँदा महिलाको स्वास्थ्य, पारिवारिक काम, कार्यक्षेत्रको कार्यसम्पादन, पारिवारिक कार्यसम्पादन, व्यक्तिगत तथा पारिवारिक आयदेखि समग्र राष्ट्रिय कुलग्राहस्थ उत्पादनमा असर पुग्ने गरेको प्रतिवेदनमा उल्लेख रहेको तामाङले बताए। समयमै उचित न्यायिक प्रक्रिया नहुँदा नेपालमा प्रतिवर्ष ९ अर्ब रुपैयाँ कुल ग्राहस्थ उत्पादनमा ह्रास आउने गरेको तथ्यांक छ।
सबैमा उचित सुरक्षा र संरक्षणले मात्र हिंसापीडितहरू न्यायिक प्रक्रियामा पुग्ने डा. तामाङको सुझाव छ। महिला बालबालिका, अपांगता तथा लैंगिक अल्पसंख्यकमन्त्री सीता बादीले हिंसापीडित महिलाले समयमै न्याय पाउन नसक्दा समग्र क्षेत्रमा असर पुगेको बताइन्। ‘विद्यमान असमानता हटाउन लैंगिक उत्तरदायी बजेटको प्रभावकारिता आवश्यक छ। यसका निम्ति आर्थिक रूपमा सबल र हिंसामुक्त समाज निर्माण गर्न एक हौं’, मन्त्री वादीले भनिन्।
महिला अर्थशास्त्री डा. बीना प्रधानले नेपालमा विद्यमान न्यायिक सम्पादन प्रक्रिया प्रभावकारी नहुनु विडम्बना रहेको बताइन्। महिलामा निहित आर्थिक परनिर्भरताले पुरुष र महिलाबिच असमानता निम्त्याएको उनको भनाइ छ। ‘महिलाको ८० प्रतिशत कामको हिसाब भएको छैन’, उनले भनिन्।
महिलाको कामको हिसाब हुने हो भने ५२ अर्ब रुपैयाँ हुन आउने उनले बताइन्। नेपाल बार एसोसिएसनका अधिवक्ता अजयशंकर झाले महिला हिंसाविरुद्ध कानुनी व्यवस्था भए पनि पुरानो सोच बाधक रहेको बताए। ‘अबको समय न्यायिक संयन्त्रमा पनि व्यवहार परिवर्तन गरेर जानुपर्छ’, उनले भने। साथै लैंगिक हिंसाविरुद्धको अभियानमा पुरुषलाई पनि सँगै लैजानुपर्ने उनको सुझाव छ।
कानुन तथा न्याय मन्त्रालयकी सह–सचिव अरुणा जोशीले नेपालमा हिंसाविरुद्ध ऐन कानुन रहे पनि पछिल्लो समय डिजिटल हिंसा र हिंसाको स्वरुपमा परिवर्तन आएकाले आवश्यक कानुन संशोधन गरी जानुपर्ने देखिएको बताइन्।
दलित महिला संघकी अध्यक्ष रेण सिंजापतिले सिड (महिलामाथि हुने सबैखाले हिंसाविरुद्धको अन्तर्राष्ट्रिय सन्धि) मा नेपालले अनुमोदन गरेको भए पनि कार्यान्वयन पक्ष अति न्यून रहेको औंल्याइन्। उनले भनिन्, ‘नेपालमा सिडसम्बन्धी २०१८ मा सिडले दिएको सुझाव प्रतिवदेन राष्ट्रिय महिला आयोगलाई दिएको तर समीक्षा गर्दा चारवटा मात्रै पालना भएको देखिन्छ’, उनले भनिन्।
महिलाविरुद्ध हुने सबै प्रकारका हिंसाविरुद्धको कानुन पालना गर्न नागरिक समाज र सरकारसँग सहकार्य गर्न तयार रहेको उनले बताइन्। यो कानुन पालना गर्ने जिम्मेवारी संघ, प्रदेश र स्थानीय तीनवटै सरकारको रहेको उनले जानकारी दिइन्।
महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष दर्शना श्रेष्ठले हिंसामा परेका उद्यमी महिलाले पनि उत्पादन प्रक्रियामा असर गर्ने भएकाले निजी उद्योग तथा व्यवसायमा देखिने तहगत आधारमा हुने हिंसा अन्त्य हुनुपर्ने बताइन्। यसका लागि निजी निकायले लैंगिक तथा समावेशी कार्यालय हुनुपर्ने सुझाइन्।
राष्ट्रिय योजना आयोग क्रुष अर्याल ढुंगानाले हिंसा अन्त्यका लागि आयोगले लैंगिक उत्तरदायी बजेट समावेश गर्दै आएको, ठुला सरकारी हाइड्रोपावरमा जेसिका मापदण्ड नीति लागु गरेको र अन्य निकायमा पनि गर्दै जाने योजना रहेको बताइन्। ‘यसलाई हरेक निजी कम्पनीमा पनि बाध्यकारी बनाउनुपर्छ भनेर लागेका छौ’,उनले भनिन्।
प्रकाशित: १० मंसिर २०८३ ११:३३ बिहीबार



