समाज

नीलबाराही मन्दिर संरक्षणमा उर्लियो जनसागर: २५ हजारको श्रमदान, करोड बढि संकलन

सरकारी उदासीनता र पहिरोको बढ्दो जोखिमले संकटमा परेको भक्तपुरको ऐतिहासिक नीलबाराही मन्दिर क्षेत्रको संरक्षणका लागि स्थानीय बासिन्दा आफैं अग्रसर भएका छन्।

करिब एक दशकसम्म स्थानीय सरकारले बेवास्ता गरेपछि सुरु भएको नागरिक अभियानले अहिले बृहत् आन्दोलनको रूप लिएको छ। अहिले १० हप्तामै एक करोड रुपैयाँभन्दा बढी सहयोग संकलन भएको छ भने २५ हजारभन्दा बढीले श्रमदान गरिसकेका छन्।

काठमाडौं उपत्यकाका चार प्रमुख बाराहीमध्ये एक, मध्यपुर थिमि नगरपालिका वडा नं-९ स्थित नीलबाराही क्षेत्रको संरक्षणका लागि १० हप्ताअघि स्थानीय युवाहरूको अगुवाइमा अभियान थालिएको थियो।

शनिबार सम्पन्न दसौं हप्ताको श्रमदानमा हजारौं स्थानीय, स्वयंसेवक, र भक्तजनहरूको अभूतपूर्व सहभागिता देखियो।

श्री नीलबाराही क्षेत्र संरक्षण सरोकार समितिका सचिव अनिश वैद्यका अनुसार, सुरुमा केही सयको संख्यामा सीमित जनश्रमदानमा अहिले प्रत्येक श्रमदानको दिन (सोमबार, बुधबार र शनिबार) तीनदेखि चार हजार मानिसको सहभागिता हुने गरेको छ।

‘सुरुमा स्थानीय युवाहरूले छलफल चलाएर अभियान थालेका थियौं, बिस्तारै जनसहभागिता र आर्थिक सहयोग बढ्दै गयो,’ वैद्यले भने, ‘अहिले आफैं खाजा बोकेर आउनेदेखि श्रमदान गर्नेहरूलाई पानी, खाजा र फलफूल सहयोग गर्नेहरूको पनि उत्तिकै भीड लाग्छ।’

अभियानमा सहभागीहरू ढुङ्गा बिछ्याउने, पानी निकास सुधार गर्ने, पहिरो नियन्त्रणका लागि बोरामा माटो भरेर तटबन्ध निर्माण गर्ने र भीरमा घाँस रोप्ने जस्ता काममा स्वस्फूर्त रूपमा जुटिरहेका छन्।

स्वयंसेवकहरूले भीड व्यवस्थापनका लागि ठाउँ-ठाउँमा हेल्प डेस्क राखेर र माइकिङ गरेर सहयोग गरिरहेका छन्।

अभियानमा सहभागीहरूको उत्साह जति प्रेरणादायी छ, स्थानीय सरकारप्रतिको आक्रोश पनि त्यति नै मुखर छ। भक्तपुरबाट सयौंको समूहमा श्रमदान गर्न आएका शिक्षक सत्यराम कासिछ्वा भन्छन्, ‘स्थानीय सरकार र अन्य निकायबाट नीलबाराहीका लागि विनियोजित बजेट र योजना कागजमा मात्रै सीमित भएपछि हामी आफैं जुट्न बाध्य भयौं। यो सामाजिक ऐक्यबद्धता हो, तर यो प्रयासमा सरकार पछि परेको देख्दा दुःख लाग्छ।’

पाँच सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको नीलबाराही क्षेत्र धार्मिक, सांस्कृतिक र पर्यावरणीय हिसाबले अत्यन्त महत्वपूर्ण मानिन्छ। थुम्कोमा अवस्थित मन्दिरको चारैतिरबाट पहिरोको जोखिम बढेपछि यो ऐतिहासिक सम्पदाको अस्तित्व नै खतरामा परेको थियो।

यो मन्दिर मध्यपुर थिमिका बासिन्दाको मात्र नभई सम्पूर्ण काठमाडौं उपत्यकाका नेवार समुदायको आस्थाको केन्द्र हो।

लगातारको वर्षाले जोखिम थपिएपछि जागेका स्थानीयको यो अभियानले यतिखेर मध्यपुर थिमि नगरपालिकाका जनप्रतिनिधिलाई दबाब बढाएको छ।

नगरपालिकाले करोडौंको योजना अघि सारेको दाबी गरे पनि वर्षौंसम्म काम नभएपछि नागरिकस्तरबाटै संरक्षणको पहल थालिएको हो।

पहिरो रोकथामका लागि तत्काल जनश्रमदानले राहत दिए पनि दीर्घकालीन समाधानका लागि व्यवस्थित जल निकास प्रणाली र बलियो इन्जिनियरिङ संरचना निर्माण गर्नु अपरिहार्य देखिन्छ।

प्रकाशित: ३ श्रावण २०८२ १८:२६ शनिबार