श्रम संकृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्रीको स्वागतलाई लिएर भइरहेको चर्चाप्रति टिप्पणी गर्दै अमेरिकाले नेपाललाई उसको वास्तविक हैसियत अनुसारकै व्यवहार गरेको बताएका छन्।
खर्बौँ रुपैयाँ विदेशी ऋणको भारमा रहेको मुलुकलाई अन्तर्राष्ट्रिय जगतले विशेष मानसम्मान नदिने भन्दै उनले यस विषयमा रास्वपा समर्थकहरूलाई चित्त नदुखाउन आग्रह गरे।
अध्यक्ष साम्पाङले प्रधानमन्त्रीको स्वागत फितलो भएको यथार्थ लुकाउन सरकार पक्षधरहरूले सामाजिक सञ्जालमा एआई र पुराना भिडियोको सहारा लिएर भ्रम छरिरहेको आरोप समेत लगाए।
‘झुटो बोलेर इज्जत जोगिँदैन, हामी गरिब छौं भने गरिब नै हौं भन्न सक्नुपर्छ,’ साम्पाङले भने, ‘आफू गरिब भएर अर्काको भव्य घर र गाडी देखाउँदै घमण्ड गर्नुको कुनै अर्थ छैन। हामी जे हौं, त्यही यथार्थ स्वीकार्नुपर्छ। त्यसैले एआईको नक्कली भिडियो बनाएर लाज छोप्ने प्रयास नगर्दा हुन्छ।’
छिमेकी मुलुक चीनलाई अमेरिकाले भव्य स्वागत गरे पनि नेपालका प्रधानमन्त्रीलाई भने उपेक्षा गरिएको चर्चातर्फ बोल्दै उनले ऋणमा डुबेको मुलुकको अन्तर्राष्ट्रिय साख कमजोर हुने बताए।
‘रेड कार्पेट त धेरै परको कुरा भयो, मर्यादित स्वागतसमेत देखिएन। तल्लो श्रेणीको सामान्य कर्मचारी लिन पठाएर एउटा सानो कारिन्दा जस्तो व्यवहार गरिएको छ,’ उनले भने, ‘खर्बौँ ऋण लिएर बसेको देशलाई कसैले पनि विशेष सम्मान गर्दैन।’
यसैबीच, प्रधानमन्त्रीले अमेरिका पुगेर अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने विषयबारे साम्पाङले सुझाव भने दिए। प्रधानमन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिन नहुने उल्लेख गर्दै उनले भने, ‘नेपालले भारतको सीमा मिचेको रहेछ भनेर थाहा पाएँ अथवा सुरुङको लेदो निकाल्ने मेसिन संसारमै रहेनछ भन्नेजस्ता हलुका कुरा त्यहाँ गएर गर्नुहुँदैन, त्यसले देशको बेइज्जत हुन्छ।’
त्यसको साटो प्रधानमन्त्रीले जलवायु न्यायको मुद्दालाई मुख्य एजेन्डा बनाउनुपर्ने उनको जोड छ। विश्वका ठूला औद्योगिक राष्ट्रहरूले गरेको अत्यधिक कार्बन उत्सर्जनका कारण नेपालका हिमनदी पग्लिएको र तिब्बतको हिमताल फुटेर भोटेकोशीमा आएको बाढीले जनधनको ठूलो क्षति पुर्याएको विषय अन्तर्राष्ट्रियकरण गर्नुपर्ने उनले बताए।
‘बाढीपहिरोले हजारौं नागरिक प्रभावित भएका छन्, सडक र पुलहरू ध्वस्त छन्। त्यसको पुनर्निर्माणका लागि विश्व समुदायसँग क्षतिपूर्ति दाबी गर्नुपर्छ,’ साम्पाङले व्यंग्य गर्दै थपे, ‘मेरो सल्लाह मान्ने हो भने विश्वसामु त्यो लेभलको कुरा राखेर क्षतिपूर्ति माग्नुपर्छ। होइन भने त त्यहाँ गएर एउटा र्याप गाएर आए हुन्छ।’
आफूले सधैँ तीतो सत्य बोल्ने गरेको सुनाउँदै साम्पाङले यथार्थ बोल्दा गाली गर्नेहरूलाई समयमै सोच्न आग्रह गरे। उनले भ्रमको खेती छोडेर वास्तविकतामा आधारित राजनीति गर्न सबैलाई आह्वान गरे।
प्रकाशित: ८ आश्विन २०८३ १९:१४ बिहीबार