वर्तमान सरकारमा महतवपूर्ण तीन विकासे मन्त्रालय सम्हालिरहेका कुलमान घिसिङले सोमबार नयाँ पार्टीको घोषणा गर्दै छन् ।
कुलमाननिकट एक व्यक्तिका अनुसार सोमबार निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता हुनेछ । त्यसका लागि यसअघि नै निर्वाचन आयोगमा दर्ता भएको ‘उज्यालो नेपाल पार्टी’को नाम परिवर्तन गर्न आयोगमा निवेदन दिइनेछ । बढी सम्भावना भने नयाँ पार्टी दर्ताकै रहेको तिनले जानकारी दिए ।
नयाँ दर्ता गरिने पार्टीको नाम ‘जनसेवा पार्टी’ रहने ती व्यक्तिको भनाइ छ । ‘पार्टी अध्यक्षमा कुलमान नै हुनेछन् । उनी अध्यक्ष भएनन् भने पूर्वऊर्जा सचिव डा. अनुपकुमार उपाध्यय हुने सम्भावना छ,’ ती व्यक्तिले भने, ‘यसबारे सोमबार बिहान टुंगो लाग्नेछ । स्रोतका अनुसार नयाँ बन्ने पार्टीले ‘एक व्यक्ति एक पद’को नीतिलाई कडाइका साथ लागु गर्नेछ । जसअनुसार सरकारमा जानेहरू पार्टीका पदाधिकारीमा बस्नेछैनन् । उक्त पार्टीले कुलमानलाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्ने बताइएको छ । त्यसैले नयाँ पार्टीको अध्यक्ष सम्भवतः कुलमान हुनेछैनन् । उनी पार्टी अध्यक्ष भए प्रधानमन्त्री हुन नपाउने हुनाले त्यसो गर्न लागिएको बताइएको छ । डा. उपाध्यायलाई अघि सार्दा कुलमानले प्रधानमन्त्री बन्ने बाटो बन्द हुने हुनाले त्यस्तो नीति लिइएको कुलमाननिकट ती व्यक्तिको भनाइ छ ।
कुलमान निकट व्यक्तिहरूको बैठक आइतबार दिनभरि काठमाडौंको बौद्धमा बसेको थियो । सोमबार बिहान फेरि बैठक बस्नेछ । बैठकमा नयाँ पार्टी गठनका लागि सक्रिय रहेका मुख्यमुख्य व्यक्तिहरू सहभागी थिए । बैठकले पार्टीको रूपरेखा तयार पारेको छ । स्रोतका अनुसार उक्त पार्टीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को पनि समर्थन रहने दाबी गरिएको छ । स्रोतका अनुसार उनी स्वयं भने पदमा रहनेछैनन् ।
बालेनका प्रतिनिधिहरू भने उक्त पार्टीमा संलग्न हुनेछन् । यसैगरी उक्त पार्टीमा केही दिनअघि निर्वाचन आयोगमा दर्ता भएको ‘जेनजी पार्टी’ पनि जोडिने दाबी गरिएको छ । कुलमाननिकट अर्का व्यक्तिका अनुसार त्यस पार्टीमा स्वतन्त्र प्रदेश सांसद ताराप्रसाद जोशी पनि सहभागी हुनेछन् । यसैगरी सुमना श्रेष्ठ, सागर ढकाल पार्टीमा सहभागी हुनेछन् । उक्त पार्टीमा जेनजी आन्दोलनका अगुवा दाबी गर्दै आएका सुदन गुरुङका प्रतिनिधिहरू पनि जोडिनेछन् ।
स्रोतका अनुसार आयोगले उक्त पार्टीलाई पार्टीका रूपमा मान्यता दियो भने काठमाडौंमै एउटा घोषणासभा हुनेछ । उक्त पार्टीको चुनाव चिह्न ‘बलिरहेको चिम’ राखिने बताइएको छ । निर्वाचन आयोगले नयाँ पार्टी दर्ता गर्न आगामी कात्तिक ३० गतेसम्म म्याद दिएको छ । म्याद सकिनै लाग्दा नयाँ पार्टी दर्ता गर्न कुलमान र उनीनिकट व्यक्तिहरूले सक्रियता बढाएका हुन् ।
‘सुरुमा उज्यालो नेपाल पार्टी नै घोषणा गर्ने सम्भावना बढी थियो तर कुलमानको टिममा रहेका केही व्यक्तिले अर्को नाम राख्न कुलमानलाई सुझाएका थिए,’ स्रोतले भन्यो, ‘त्यसैले पनि जनसेवा पार्टी नाम रहने सम्भावना बलियो भएको हो ।’
यो पनि पढ्नुहोस्
आज नयाँ पार्टी घोषणा गर्दै कुलमान, बालेनको पनि समर्थन
प्रकाशित: २३ कार्तिक २०८२ १९:१३ आइतबार