समाज

कुलेखानी जलाशयको जलसतह खतराको तहमा, ढोका खोल्ने तयारी

बागमती नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रौतहटले बागमती नदीसँग जोडिएको तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

अर्नब चक्रवातको प्रभावका कारण विगत तीन दिनदेखि लगातार भइरहेको वर्षाले कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह खतराको तह पार गरेको जानकारी प्राप्त भएपछि रौतहट प्रशासनले यस्तो आग्रह गरेको हो।

मकवानपुर जिल्ला प्रशासन कार्यालयबाट प्राप्त जानकारी अनुसार जलाशयमा पानीको सतह बढ्दै गएपछि निकासद्वार (ढोका) खोल्ने तयारी गरिएको छ। जलाशयबाट पानी छाडिएमा बागमती नदीमा पानीको बहाव र जलस्तर बढ्न सक्ने भएकाले रौतहट जिल्लाको बागमती नदी किनार तथा तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने सम्भावना रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पौडेलले बताए।

सम्भावित बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटले नदी किनारका बासिन्दालाई विशेष सावधानी अपनाउन, नदीको बहाव नजिक नजान तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानतर्फ जान तयारी अवस्थामा रहन अनुरोध गरेको छ।

त्यस्तै, जिल्लाका स्थानीय तहहरूलाई सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्न, उद्धार तथा राहत टोलीलाई तयारी अवस्थामा राख्न र जोखिममा रहेका बस्तीका नागरिकलाई समयमै सचेत गराउन आग्रह गरिएको छ।

प्रशासनले मौसम तथा नदीको जलस्तरमा आउने परिवर्तनप्रति सचेत रहन र आधिकारिक सूचनालाई मात्र आधार मानी आवश्यक सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

सम्भावित बाढीको जोखिमलाई सामान्य रूपमा नलिई समयमै सतर्कता अपनाउन तथा विपद् आइपरेपछि भन्दा विपद् आउनुअघि नै सुरक्षित रहने तयारी गर्न प्रशासनले सबैमा आग्रह गरेको छ।

प्रकाशित: १४ कार्तिक २०८३ १४:२५ शनिबार