समाज

कुलेखानी जलविद्युतको ड्याम जोखिममुक्त

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको बाँध सुरक्षित रहेको र अवस्था सामान्य रहेको बताएका छन्। 

पछिल्लो ८–१२ असोजमा परेको भारी वर्षाका कारण खतराको सतह पार गरेको कुलेखानी बाँधको वस्तुस्थिति बुझ्न मन्त्री श्रेष्ठ शनिबार कुलेखानी ड्याम पुगेका थिए। उनलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ तथा प्राधिकरणका कर्मचारीले बाँध र जलाशयको अवस्थाबारे जानकारी गराएका थिए। 

मन्त्री श्रेष्ठले भारी वर्षाका बेला बाँधमा उच्च निगरानी राख्नुका साथै आवश्यक रणनीति अपनाइएको बताए। 

‘सतह म्यानेज गर्ने, २४ सै घण्टा निगरानीमा राख्ने, तल्लो तटमा पनि सूचना प्रवाह गरेर अलर्ट राख्ने गरिएको थियो,’ उनले भने, ‘आज आएर हेर्दा म्यानेज भएको छ। ड्याम स्टेबल छ।’ 

अविरल वर्षाका कारण देशका विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुग्दा कुलेखानी बाँधमा पनि पानीको सतह सतर्कता तहमा पुगेको थियो। यससँगै बाँधमा सम्भावित जोखिम र विद्युत् आपूर्ति व्यवस्थापनमा दबाब सिर्जना भएको थियो। 

‘नेपालको विद्युत् प्रणालीको ‘ब्याकअप’का रूपमा रहेको कुलेखानी जलविद्युत् केन्द्रमा पनि यसको प्रभाव परेको थियो,’ उनले भने। 

मन्त्री श्रेष्ठले कुलेखानी जलाशय तथा विद्युत् केन्द्रको स्थलगत अध्ययन गर्दा बाँधको वर्तमान अवस्था र जलाशयमा रहेको पानीको सतह हेर्दा आगामी सुख्खा मौसममा विद्युत् आपूर्ति व्यवस्थापनमा थप सहजता हुने विश्वास बढेको बताए। 

‘ऊर्जा सुरक्षालाई बलियो बनाउँदै भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न सरकार निरन्तर सक्रिय छ,’ उनले भने। 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठले कुलेखानी विद्युत् प्रणालीको मेरुदण्डका रूपमा रहेको बताए। 

‘यसले सिस्टमलाई पिकिङको लागि पनि महत्त्वपूर्ण भूमिका खेल्छ,’ उनले भने, ‘सिस्टम अपरेटको पोइन्ट अफ भ्युबाट ठूलो योगदान रहिआएको छ।’ उनले पनि कुलेखानी बाँधको अवस्था सामान्य रहेको बताए। 

प्रकाशित: १७ आश्विन २०८३ ११:५५ शनिबार