समाज

बस कति मिनेटमा आइपुग्छ ? अब मोबाइलमै देखिने

काठमाडौं उपत्यकामा गुड्ने सार्वजनिक सवारीसाधनको लाइभ लोकेसन र यात्रु कुरिरहेको स्थानमा बस आइपुग्न लाग्ने समयबारे जानकारी दिने ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ मोबाइल एप सार्वजनिक गरिएको छ।

‘सङ्घीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्’ को तेस्रो बैठकमा परिषद्का अध्यक्ष एवं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उक्त एप्लिकेसन सार्वजनिक गरेकी हुन्।

हाल यस एपमार्फत जीपीएस जडान गरिएका उपत्यकाका करिब १ हजार २ सय सार्वजनिक सवारीसाधनका बारेमा जानकारी लिन सकिन्छ। आगामी दिनमा बाँकी सार्वजनिक सवारीहरूमा पनि यो प्रणाली विस्तार गर्दै लैजाने प्राधिकरणको योजना छ।

कार्यक्रममा कार्यवाहक प्रमुख डङ्गोलले उपत्यकाको सार्वजनिक यातायातलाई पहुँचयोग्य बनाउन, रात्रिकालीन सेवा विस्तार गर्न र विद्यार्थीहरूका लागि बिहान सबेरैदेखि यातायात सञ्चालन गर्न स्थानीय तहहरूबीच वित्तीय साझेदारी आवश्यक रहेको बताइन्।

सार्वजनिक यातायात कुनै एउटा पालिकाको सीमाभित्र मात्र सीमित नहुने भएकाले पालिकाहरूले साझा सवालका रूपमा लिएर सेवामा एकरूपता ल्याउनुपर्ने उनको भनाइ थियो।

बैठकमा परिषद्का उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक यातायात सुधारमा परिषद्ले आकार बदल्न सक्ने क्षमता राख्ने भन्दै यात्रुले सहजता महसुस गर्ने प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिए।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुवेर नेपालीले विगतमा अन्तर-सरकार समान बुझाइ नहुनुका साथै सरकारको खारेजी सूचीमा परेका कारण काम रोकिएको स्मरण गराए। उनले यस वर्ष पुनःसंरचना गर्ने निर्णय आएसँगै चालु आर्थिक वर्षका कार्यक्रमहरू अघि बढाइएको जानकारी दिए।

चालु आर्थिक वर्षका लागि बस स्टप तथा ‘पिक एन्ड ड्रप’ प्वाइन्टको वैज्ञानिक निर्धारण गर्ने र रात्रिकालीन बस सञ्चालनका सर्त तथा सम्झौताको मोडल तयार गरी नगरपालिकाहरूसँग सहकार्य थाल्ने निर्णय भएको छ।

त्यसैगरी, स्थानीय तहसँगको साझेदारीमा मुख्य बसपार्क तथा बस स्टपहरूमा जीपीएस ट्र्याकिङमा आधारित ‘सार्वजनिक यातायात सूचना प्रणाली’ जडान गर्ने र नगदरहित (क्यासलेस) भाडादर लागू गर्न आवश्यक कानुनी पूर्वाधार तयार गर्ने कार्यक्रम स्वीकृत भएका छन्।

बैठकले अनिवार्य टिकट लिने संस्कार विकास गर्न जनचेतनामूलक अभियान सञ्चालन गर्ने तथा सम्पदा र पर्यटकीय क्षेत्र लक्षित विशेष यातायात सेवा सञ्चालनका लागि अध्ययन गर्ने निर्णय समेत गरेको छ।

परिषद्को पहिलो बैठक २०८० भदौ २८ मा र दोस्रो बैठक २०८१ मा बसेको थियो। ३५ सदस्यीय विशाल परिषद्को कार्यसम्पादनलाई चुस्त बनाउन काठमाडौं महानगर प्रमुखको अध्यक्षतामा ९ सदस्यीय ‘स्टेरिङ कमिटी’ गठन गरिएको छ।

कमिटीमा ललितपुरका प्रमुख चिरीबाबु महर्जन, चाँगुनारायणका प्रमुख जीवन खत्री, चन्द्रागिरिका प्रमुख घनश्याम गिरी र बूढानीलकण्ठका प्रमुख मिठाराम अधिकारी सदस्य छन्।

यस्तै, यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी कार्यालय र सडक विभाग सदस्य तथा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुवेर नेपाली सदस्य सचिव रहेका छन्।

‘सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन, २०७९’ को दफा ३ बमोजिम प्रदेश सरकारले ७ सदस्यीय प्राधिकरण बनाउन सक्ने व्यवस्था छ।

ऐनको दफा १२ अनुसार सङ्घीय राजधानी सहरी क्षेत्रका लागि छुट्टै विशेष व्यवस्था गरी देशका सातै प्रदेशमा एक/एक र राजधानीमा एक गरी कूल ८ वटा प्राधिकरण रहने प्रबन्ध गरिएको छ।

सङ्घीय राजधानीको कामकारबाही सञ्चालनका लागि काठमाडौं महानगर प्रमुखको अध्यक्षतामा गठित परिषद्मा ललितपुर महानगर प्रमुख उपाध्यक्ष, भक्तपुर नगर प्रमुख, भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव, सडक तथा यातायात व्यवस्था विभागका महानिर्देशक, उपत्यका ट्राफिक प्रहरी प्रमुख र बागमती प्रदेशको यातायात हेर्ने मन्त्रालयका सचिव पदेन सदस्य रहन्छन्।

यसका साथै सार्वजनिक यातायात सञ्चालन गर्ने ठूला कम्पनीबाट महिलासहित ३ जना, उपभोक्ता हित संरक्षण संस्थाबाट २ जना, प्रदेश सरकारले मनोनयन गरेका विज्ञ ३ जना, उपत्यकाका अन्य स्थानीय तहका प्रमुख वा उपप्रमुखहरू तथा श्रमिक, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्वसहितको समावेशी संरचना ऐनले सुनिश्चित गरेको छ।

अविच्छिन्न उत्तराधिकारवाला यस स्वशासित संस्थाले सार्वजनिक यातायातसम्बन्धी दीर्घकालीन रणनीति निर्माण, रुट निर्धारण, सूचना प्रविधिमा आधारित क्यासलेस भाडा प्रणाली, वास्तविक समयमा आधारित सूचना प्रणाली, वातावरणमैत्री बस सञ्चालन, अपाङ्गता तथा साइकलयात्रीमैत्री पूर्वाधार निर्माण र बस बिसौनीहरूमा सार्वजनिक शौचालय व्यवस्थापनको पूर्ण जिम्मेवारी बहन गर्नेछ।

प्रकाशित: ३ भाद्र २०८३ १९:१६ बुधबार