समाज

दैलेखमा हुइँकिन्छ कृष्णाको अटो...

पहाडी जिल्ला दैलेखमा अटो चलाउँदै कृष्णा नेपाली । तस्बिर : गोविन्द केसी/नागरिक

पहाडी जिल्ला दैलेखमा अटो चलाएरै महिलाहरु आत्मनिर्भर बन्न थालेका छन् । गाउँघरको काममै ब्यस्त हुने महिलाहरु हिजाआज अटो चलाएरै राम्रो आम्दानी गर्न थालेका हुन् ।  

नारायण नगरपालिका–६ भुर्तीकी २२ वर्षीया कृष्णा नेपाली पछिल्लो समय समाजमा महिला पनि सशक्त र आत्मनिर्भर बन्न सक्छन् भन्ने उदाहरण बनेकी छन् ।  

कृष्णाले पुरुषले गर्ने पेशा मानिने सवारी चालकको भूमिकामा उत्रिँदै आफ्नो परिवारको आर्थिक बोझ काँधमा लिइरहेकी छन् । सुरुमा डर र संकोच भए पनि अहिले उनी गर्वका साथ अटो रिक्सा चलाउँछिन् । जसले गर्दा समाजमा उनको प्रशंसा समेत हुने गरेको छ ।  

कृष्णाले स्थानीय एभरेष्ट क्लब दैलेखको सहजीकरणमा पाँच दिने जीवन उपयोगी सीप विकास तालिम, व्यवसाय सुरु तथा सुधार तालिम र ३ सय ९० घण्टे सिप विकास तालिम पूरा गरेपछि सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गरेकी थिइन् । त्यसपछि क्लवमा सञ्चालन भएको कार्यक्रमबाट एक लाख रुपैयाँ अनुदान प्राप्त गरिन् ।

स्थानीय एक सहकारी संस्थाको घुम्ती कोषबाट थप दुई लाख रुपैयाँ ऋण लिएर कृष्णाले अटो किनेर दैलेख बजारसहित भगवतीमाई, तल्लोडुगेश्वर, दुल्लु नगरपालिका लगायतका स्थानहरुमा पुगेर यात्रुहरुलाई सेवा दिएकी छिन् । उनका अनुसार मासिक रुपमा सवै खर्च कटाएर ३० हजार रुपैयाँ बचत हुने गरेका छ । ‘दुःख पनि गरेको छु । त्यसअनुसार आम्दानी पनि लिईरहेको छु,’ कृष्णाले भनिन्, ‘पहाडी सडकहरुमा जोखिम मोलेर सुरक्षित रुपमा अटो चलाईरहेको छु ।’

आम्दानीबाटै उनले सहकारीको ऋण पनि किस्ताबन्दीमा तिरिरहेकी छन् ।  

‘सुरुमा यात्रुहरुले महिलाले पनि अटो चलाउँछन् र ?’ भनेर सोध्ने गर्थे कृष्णाले भनिन् ‘अचेल उहाँहरुले नै कति राम्रो चलाउनु हुन्छ भनेर प्रशंसा गर्ने गरेका छन् ।’

कृष्णाको प्रेरणाले उनकी दिदी संगीता नेपालीले पनि अटो व्यवसाय थालेकी छन् । उनले अटो भाँडामा लिएर सञ्चालन गरिरहेकी छन् र मासिक झण्डै २० हजार रुपैयाँ आम्दानी गरिरहेकी छन् । कृष्णाले भनिन् ः ‘काम नपाएर विदेशिनुभन्दा आफ्नै ठाउँमा केही गरेर आत्मनिर्भर बन्न सकिने रहेछ ।’ 

प्रकाशित: १५ श्रावण २०८२ १५:२७ बिहीबार