कोशी प्रदेशलाई नेपालको अग्रणी पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित आयोजित ‘कोशी टुरिज्म कन्क्लेभ–२०८३’ विराटनगरमा सम्पन्न भएको छ। कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा होटल स्वागतम्मा बिहीबार कन्क्लेभ आयोजना गरिएको हो।
पर्यटन, वन तथा वातावरण मन्त्री भीमप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रमुख अतिथि तथा प्रदेश सभाका सभामुख अम्मरबहादुर बिष्ट विशेष अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा सामाजिक विकास मन्त्री, प्रदेश सभा सदस्यहरू, पर्यटन तथा उद्योग विकास समितिका प्रतिनिधि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईं, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ताराप्रसाद निरौला, नेपाल पर्यटन बोर्डका प्रतिनिधि, निजी क्षेत्र, पर्यटन व्यवसायी, प्राध्यापक, विद्यार्थी, पत्रकार तथा विकास साझेदारहरूको उल्लेखनीय सहभागिता रहेको मन्त्रालयले जनाएको छ।
शुभकामना मन्तव्यका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले कोशी प्रदेश प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनको महत्वपूर्ण सम्भावना बोकेको क्षेत्र भएको बताए।
मुख्यमन्त्री कार्कीले पर्यटन गुरुयोजना निर्माण, कानुनी सुधार, अन्तर्राष्ट्रिय साहसिक खेल पर्यटन, शैक्षिक पर्यटन तथा सार्वजनिक–निजी साझेदारीमार्फत लगानी विस्तारमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
अध्यक्षीय मन्तव्यमा मन्त्री पराजुलीले पर्यटन क्षेत्र तत्काल रोजगारी सिर्जना गर्ने प्रभावकारी माध्यम भएको उल्लेख गर्दै पर्यटन पूर्वाधार, गन्तव्य विकास र प्रवर्द्धनलाई प्राथमिकता दिइएको जानकारी दिए।
कन्क्लेभबाट सीमापार पर्यटन विस्तार, समुदायमा आधारित पर्यटन विकास, स्थानीय संस्कृति र रैथाने खानाको संरक्षण, पर्यटनसम्बन्धी नीति तथा कानुन सुधार, संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन, पर्यटन सूचना केन्द्र स्थापना, नेपाल पर्यटन बोर्डको प्रदेशस्तरीय कार्यालय स्थापना तथा पर्यटक प्रहरी र हटलाइन सेवा सञ्चालनलाई प्राथमिकताका साथ अघि बढाउने निष्कर्ष निकालिएको मन्त्रालयले जनाएको छ।

कन्क्लेभले नीतिगत सुधार, पूर्वाधार विकास, निजी क्षेत्रको साझेदारी र अन्तरदेशीय सहकार्यलाई सुदृढ गर्दै कोशी प्रदेशको पर्यटन क्षेत्रलाई नयाँ दिशा दिने साझा प्रतिबद्धता व्यक्त गरेको छ।
प्रकाशित: १३ असार २०८३ १९:४६ शनिबार