समाज

ऐतिहासिक गोर्खे बजार संरक्षण गर्न कोशी प्रदेश प्रमुख खापुङको जोड

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले इलामको ऐतिहासिक गोर्खे बजारलाई पुनर्जीवन दिइनुपर्ने बताएका छन् । अनौपचारिक भ्रमणमा इलाम आएका खापुङले सोमबार सूर्योदय नगरपालिका–१ स्थित गोर्खे बजार पुगेर पर्यटन, कृषि र उद्योगका दृष्टिले सम्भावनायुक्त यो ठाउँ ओझेलमा परेको बताए ।  

पुरानो व्यापारिक केन्द्र गोर्खे बजारस्थित राम मन्दिर, नाकामुरा करिअप्पा ध्यान केन्द्र, नेपालकै पुरानो साना जलविद्युत् आयोजना (हाल बन्द)लगायत क्षेत्र अवलोकन गरेपछि वडा कार्यालयमा आयोजित छलफलमा उनले इतिहास बनाउन कठिन हुने जनाए । उनले पुर्खाले रचेको इतिहासलाई मासिन नदिन तीन तहका सरकार लाग्नुपर्ने पनि बताए ।

‘राणाकालअघि अस्तित्वमा रहेको यो बजार आउने मेरो पुरानो धोको थियो । यहाँका भन्सार, सरकारी बैंक, उद्योग, जलविद्युत् आयोजना अहिले सबै बन्द रहेछन् । तीन तहका सरकारले गोर्खेको इतिहास ब्युँताउनुपर्छ,’ उनले भने, ‘इतिहास संरक्षण गर्न सकिएन भने सजिलै मेटिएर जान्छ । तर, इतिहास बनाउन चाहिँ सजिलो छैन । गोर्खेलाई पुनर्जीवन दिन म सरकारसँग समन्वय गर्छु ।’  

वडाध्यक्ष राजकुमार सेरेङले त्यसका आवश्यक पहल तथा सहजीकरण गरिदिन माग गर्दै प्रदेश प्रमुख खापुङसमक्ष ज्ञापनपत्र बुझाए । मैयुँखोला क्षेत्रको समग्र सौन्दर्यीकरण तथा पर्यटन पूर्वाधार विकास, ऐतिहासिक गोर्खे बजार संरक्षण तथा पुनर्जीवन, नाकामुरा करिआप्पा ध्यानकेन्द्र क्षेत्र संरक्षण तथा सौन्दर्यीकरण, पर्यटन सडक (गोर्खे–बाङ्गिन–थुम्के) स्तरोन्नति गर्न स्थानीयले सरकारसँग आवश्यक समन्वयको माग गरेका छन् ।  

तीन दशकअघिसम्म जिल्लाकै प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको गोर्खे बजार अचेल सुनसान छ । राणाकालीन समयअघि नै अस्तित्वमा रहेको यो बजार इलामसहित पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुमलगायतका मानिसको जडिबुटी, नगदेबाली विक्री गर्ने र नुन–चामल किन्ने केन्द्र थियो। तर, अहिले यहाँका अधिकतर ठूला व्यापारी नै विस्थापित भइसकेका छन्।  गोर्खेस्थित ऐतिहासिक साना जलविद्युत् आयोजना हाल बन्द छ। ६४ किलोवाटको आयोजना पशुपतिनगर र गोर्खे बजारलाई लक्षित गरेर सञ्चालन गरिएको थियो।  

स्थानीय शिक्षक गणेशकुमार खड्काका अनुसार, ‘तीन दशकअघि यहाँ १२ वटा माडवारीका पसल र दर्जनौ अरू ठूला पसल सञ्चालनमा थिए। अहिले त्यो अवस्था छैन। विगतमा यहाँ कृषि विकास बैंक, भेटनरी, भन्सार, प्रहरी चौकीलगायतका सरकारी कार्यालय थिए। अहिले बैंक, भेटनरी र भन्सार छैन। हटेको प्रहरी कार्यालय भने पुनर्स्थापना भएको छ।’  

गोर्खे बजार ४० को दशकसम्म अत्यधिक चलेको बजार थियो। यहाँ जिल्लामै पहिलोपटक गाडी गुडेको इतिहास रहेको गोर्खेका भीम खापुङले बताए । उनका अनुसार यहाँ २०१८ सालमा नै दार्जिलिङबाट मोटर आएको थियो।  

गोर्खे बजार राणाशासनकै बेला पनि चल्तीमा रहेको स्थानीय धनकुमार श्रेष्ठले बताए । पृथ्वीनारायण शाहले सिक्किम आक्रमण गर्ने क्रममा गोर्खा फौज बास बसेको भएकाले गोर्खे नामकरण भएको इतिहास उनले सुनाए । ‘आलु अलैंची र जडिबुटी बिक्री र खाद्यान्न, नुन, मट्टितेललगायत सामग्री खरिदका लागि आउने मानिसको भीडले गोर्खे बजारमा खुट्टा टेक्ने ठाउँ हुँदैनथ्यो,’ स्थानीय अर्जुनकुमार भट्टराईले भने ।

स्थानीयले गोर्खेलाई पुनर्जीवन दिने प्रयास पनि नगरेका होइनन्। १० वर्षअघि यहाँ बुधबारे हटिया सुरु गरिएको छ। हटियामा विभिन्न कार्यक्रम राख्दै रौनक बढाउन स्थानीय लागिपरेका छन्। ‘हटिया सुरु भएपछि चहलपहल बढ्दैछ । खस्किदैगएको बजार अहिले केही सुधार भएको छ,’ स्थानीय विशाल मास्केले बताए । मेची राजमार्गअन्तर्गत फिक्कल बजारबाट ११ किलोमिटर उत्तरमा गोर्खे पुगिन्छ । यो भारतीय सीमा क्षेत्र मानेभञ्ज्याङबाट ७ किलोमिटरमा छ ।  

.................

स्थानीयसँग छलफल गर्दै कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ ।

प्रकाशित: २९ भाद्र २०८३ २०:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App