कोशी प्रदेश सरकारका कर्मचारीहरूले हप्ताको दुई दिन अनिवार्य स्थानिय उत्पादनहरू ढाका, खाँडी र अल्लोका कपडा अनिवार्य लगाउनुपर्ने भएको छ ।
प्रदेशको उत्पादनलाई प्रोत्साहन गर्ने गरी कर्मचारीहरूलाई दिइने पोशाक भत्ता कार्यान्वयनमा ल्याएसँगै कोशी प्रदेशमै उत्पादन भएका ढाका, खाँडी (खादी) र अल्लो तथा अन्य कपडाबाट निर्मित अफिस पोशाक अनिवार्य रूपमा प्रयोग गर्ने गर्न कर्मचारीलाई प्रदेश सरकारले निर्देशन दिएको छ ।
बुधबार र शुक्रबार यो व्यवस्था लागू गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी प्रदेशले जानकारी दिएको छ । सोही निर्णयअनुसार सामाजिक विकास मन्त्रालयका कर्मचारीहरूले मंगलबारदेखि स्थानीय उत्पादनबाट बनेको पोशाक लगाउन सुरु गरेका छन् । सरकारले साताको दुई दिन स्थानीय उत्पादनबाट बनेको पोशाक लगाउनुपर्ने व्यवस्था कार्यान्वयनका लागि नियमित रूपमा प्रदान गरिँदै आएको पोशाक भत्तामा प्रतिव्यक्ति वार्षिक ५ हजार ५ सय रुपैयाँ थप गरी विशेष पोशाक सुविधा उपलब्ध गराएको छ ।
मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आर्थिक वर्ष २०८३÷०८४ देखि कोशी प्रदेशका स्थानीय तहहरूले पनि यो अभियानमा सहभागी हुन चाहेमा प्रदेश सरकारले लागत साझेदारी गर्ने नीति तथा आवश्यक बजेटको व्यवस्था गर्ने बताए । मुख्यमन्त्री कार्कीका अनुसार यस अभियानले कोशी प्रदेशमा उत्पादित ढाका, खादी र अल्लोजस्ता स्थानीय वस्तुको उत्पादन, बजारीकरण तथा प्रयोगलाई प्रोत्साहन गर्नेछ ।
हाल कोशी प्रदेश सरकारअन्तर्गत करिब ३ हजार ९६ जना कर्मचारी कार्यरत रहेका छन् । स्वीकृत दरबन्दी ४ हजारभन्दा बढी रहेको छ । प्रदेश सरकारले कर्मचारीमार्फत स्थानीय उत्पादनको प्रयोग बढाउँदै स्वदेशी उद्योगको प्रवद्र्धन र प्रदेशको अर्थतन्त्रलाई थप चलायमान बनाउने लक्ष्य लिएको जनाएको छ ।
प्रकाशित: ३० असार २०८३ २०:२९ मंगलबार