समाज

दसैँमा आउने यात्रुलाई लक्षित गर्दै कोप्चे–बराह क्षेत्र जलयात्रा सेवा

दसैँमा आउने यात्रुलाई लक्षित गर्दै भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेदेखि बराह क्षेत्रसम्म जलयात्रा सेवा पुनः सञ्चालन ल्याइएको छ। दसैँ मनाउन गाउँ फर्किने तथा तराईका विभिन्न सहरमा आवतजावत गर्ने यात्रुलाई लक्षित गरेर आइतबारबाट जलयात्रा सुरु भएको हो।

अरुण र दूधकोशी नदीमा पक्की पुल नहुँदा लामो समयदेखि आवागमनमा समस्या भोग्दै आएका दक्षिणी क्षेत्रका स्थानीयलाई जेटबोट सञ्चालनले राहत मिलेको छ। नदीमा पानीको बहाव बढेपछि गत जेठ अन्तिमदेखि जलयात्रा बन्द थियो।

स्थानीय व्यवसायी हतुवागढी–९ कोप्चेका मिलन राईले कोप्चेबाट बराह क्षेत्रसम्मको भाडा रु ५०० तोकिएको जानकारी दिए। दक्षिणी भोजपुरका स्थानीय जेटबोट चढेर धरान, इटहरी र विराटनगरलगायतका सहरमा पुग्ने गरेका छन्। यसअघि तीन–चार घण्टा पैदल हिँडेर चतरा पुग्नुपर्ने बाध्यता रहेकामा अहिले करिब १९ किलोमिटर दूरी जेटबोटमार्फत २० देखि २५ मिनेटमै पार गर्न सकिने भएको छ।

हतुवागढी गाउँपालिकाले जलयात्रालाई पर्यटनसँग जोड्दै यस क्षेत्रको आर्थिक गतिविधि बढाउने लक्ष्य राखेको छ। गाउँपालिका अध्यक्ष प्रेमकुमार राईका अनुसार जलयात्राले हतुवागढी र तराईका जिल्लाबीचको दूरी घटाउनुका साथै स्थानीय पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधि विस्तारमा सहयोग पुर्याउनेछ।

प्रकाशित: ३ कार्तिक २०८३ ०६:३३ मंगलबार