समाज

बाढीपीडित दम्पतीको निःशुल्क मिर्गौला प्रत्यारोपण गरिदिने केएमसीको घोषणा

काठमाडौं मेडिकल कलेजले भोटेकोशी बाढीका कारण आर्थिक संकटमा परेका एक दम्पतीको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने भएको छ। 

बाढीपीडित ४१ वर्षीया विष्णुकुमारी डंगोल र उनका श्रीमान् राजकुमार डंगोलको मिर्गौला प्रत्यारोपण अस्पतालले निःशुल्क गर्ने भएको हो। अस्पतालमा भर्ना भएदेखि शल्यक्रिया भई डिस्चार्ज हुँदासम्म लाग्ने सम्पूर्ण खर्च कलेजले बेहोर्ने कुरा सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ। बाढीपीडित नागरिकको उपचारमा सहयोग गर्नु सामाजिक दायित्व भएको बताउँदै अस्पतालले आवश्यक सहयोगका लागि सम्पर्क गर्न अनुरोध गरेको छ।

यसअघि पनि अस्पतालले बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाका घाइते बिरामीहरूको भक्तपुरको दुवाकोटस्थित अस्पतालमा निःशुल्क उपचार गर्ने घोषणा गरिसकेको थियो। 

औषधि तथा औषधिजन्य सामग्रीबाहेक अस्पतालमा उपलब्ध सम्पूर्ण उपचार सेवा निःशुल्क हुने अस्पतालको भनाइ छ। विपद्को यस कठिन घडीमा स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित नहुन् भन्ने उद्देश्यले यो व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ।

यसबारे काठमाडौं मेडिकल कलेजले गरेको घोषणा हेर्नुस्
बाढीपीडित बिरामीको निःशुल्क मिर्गौला प्रत्यारोपण गरिने बारे
यस काठमाडौं मेडिकल कलेजले बाढीपीडित ४१ वर्षीया श्रीमती विष्णुकुमारी डंगोल, श्रीमान् राजकुमार डंगोलको मिर्गौला प्रत्यारोपण (Kidney Transplant) निःशुल्क गर्ने जानकारी सम्बन्धित सबैमा गराइन्छ।
बाढीका कारण मिर्गौला प्रत्यारोपणका लागि आवश्यक आर्थिक स्रोत गुमेपछि उपचारमा कठिनाइ उत्पन्न भएको अवस्थामा बिरामीको अवस्थालाई मध्यनजर गर्दै काठमाडौं मेडिकल कलेजले मानवीय सहयोगस्वरूप निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने निर्णय गरेको हो।
बिरामी अस्पतालमा भर्ना भएदेखि सफलतापूर्वक मिर्गौला प्रत्यारोपण सम्पन्न गरी डिस्चार्ज हुँदासम्म लाग्ने सम्पूर्ण अस्पतालसम्बन्धी खर्च काठमाडौं मेडिकल कलेजले निःशुल्क उपलब्ध गराउनेछ।
यस विपद्को कठिन घडीमा बाढीपीडित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउनु हाम्रो सामाजिक तथा मानवीय दायित्व हो।
काठमाडौं मेडिकल कलेज
स्वास्थ्य सेवामा समर्पित, विपद्को घडीमा नागरिकको साथमा।
नोट: यस विपद्को कठिन परिस्थितिमा बाढीपीडित नागरिकहरूको स्वास्थ्य उपचारमा सहजीकरण गर्ने उद्देश्यले काठमाडौं मेडिकल कलेजले सम्पूर्ण बाढीपीडित नागरिकको निःशुल्क उपचारको व्यवस्था गर्दै आएको छ। उपचारको आवश्यकता भएका बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीहरूले आवश्यक सहयोगका लागि काठमाडौं मेडिकल कलेजमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ। यस कठिन समयमा स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित नहुन् भन्ने हाम्रो प्रयास हो।

प्रकाशित: १५ भाद्र २०८३ १०:२७ सोमबार