समाज

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्राडा शर्माको निधन

काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको निधन भएको छ। शर्माको बुधबार साँझ काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

केयूका उपकुलपति विवेक बरालका अनुसार ८६ वर्षीय शर्माको उपचारका क्रममा निधन भएको हो। सिन्धुलीको खुर्कोटमा जन्मिएका शर्माले नेपालको प्राविधिक तथा उच्च शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएका थिए।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) स्थापना भएपछि उनी त्यसका पहिलो कार्यकारी निर्देशक बनेका थिए। काठमाडौं विश्वविद्यालय स्थापनाका क्रममा पनि सक्रिय भूमिका निर्वाह गरेका शर्मा विश्वविद्यालयका पहिलो उपकुलपति बनेका थिए।

उनी सन् १९९१ देखि २०१२ सम्म लगातार २१ वर्ष काठमाडौं विश्वविद्यालयको उपकुलपति रहे। हाल उनी विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीमा आबद्ध थिए।

शर्माले नेपाल, भारत र बेलायतका विभिन्न विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका थिए।

प्रकाशित: ७ आश्विन २०८३ २०:३० बुधबार