समाज

काठमाडौं प्रहरीले भन्यो: बिल बिनाका गरगहना नकिनौँ, लुटपाटको हुनसक्छ

जिल्ला प्रहरी परिसर, काठमाडौंले बिल बिजक बिनाका सुनचाँदीका गरगहना नकिन्न आह्वान गरेको छ। जेन–जी आन्दोलनका क्रममा राजधानीका विभिन्न स्थानबाट सुन, चाँदी र हिराजवारत चोरी र लुटपाट भएकाले तीनै सामग्री हुनसक्ने भन्दै प्रहरी परिसरले बुधवार यस्तो सूचना जारी गरेको हो। 

‘राजधानी काठमाडौंमा रहेका सरकारी कार्यालयहरू, बैंक वित्तीय संस्थाहरू, व्यापारिक प्रतिष्ठानहरू लगायत व्यक्तिगत घर÷भवनमा समेत आगजनी तोडफोड गर्ने समूहले बहुमूल्य गरगहना, सरसामान (सुन, चाँदी, हिराजवारत) चोरी लुटपाट गरी लगेको विवरणहरू प्राप्त भइरहेकोले उक्त आपराधिक समूहले लुटिएका गरगहना विक्री गर्न राजधानीका सुनचाँदी पसलमा ल्याउन सक्ने हुँदा बिल भरपाई बिनाका सुनचाँदीका गरगहना खरिद नगर्न हुन र त्यस्तो कुनै सूचना पाएमा तत्काल प्रहरीलाई खबर गर्नुहुन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ, यस सूचनाको अवज्ञा गरी यस्ता आपराधिक कार्यमा संलग्न रहेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही भई जाने ब्यहोरा समेत सबैमा सूचित गराइन्छ,’ परिसरद्वारा जारी सूचनामा भनिएको छ। 

यस्ता सामानहरू प्राप्त भएमा प्रहरी कन्ट्रोल नम्बर १०० र जिल्ला प्रहरी परिसर, काठमाडौंको सम्पर्क नम्बर ९८५१२८३०१२ वा नजिकको प्रहरी कार्यालयमा जानकारी गरिदिन पनि सूचनामार्फत आग्रह गरिएको छ। 

प्रकाशित: १ आश्विन २०८२ १३:४७ बुधबार