काठमाडौं महानगरपालिकाको शिक्षा विभागले विभिन्न ९२ वटा संस्थागत विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने विषयमा ३५ दिने सूचना जारी गरेको छ।
महानगर क्षेत्रभित्र कानुनबमोजिम अनुमति लिएर सञ्चालनमा नरहेका विद्यालयलाई ३५ दिनभित्र आवश्यक कागजात र विवरण पेस गर्न भनिएको हो।शिक्षा विभागका प्रमुख नवराज ढकालले शिक्षा ऐनबमोजिम विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने भएमा सोसम्बन्धी सूचना प्रकाशित गरिएको बताए। चित्तबुझ्दो जवाफ नआए विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने सम्बन्धमा शिक्षा विभागले आवश्यक प्रक्रिया अघि बढाउने उनले उल्लेख गरेका छन्।
यसअघि पनि महानगरपालिकाले दर्ता भएर सञ्चालनमा नरहेका संस्थागत विद्यालयको स्थलगत अनुगमन गरी अनुमति खारेजीको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो। नगर शिक्षा समितिको बैठकले कागजमा मात्र रहेका तथा यथार्थमा सञ्चालनमा नरहेका संस्थागत विद्यालयको अनुमति खारेज गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

प्रकाशित: ६ भाद्र २०८३ २१:३२ शनिबार



