समाज

काठमाडौं महानगरद्वारा स्रोत शिक्षकसँग कार्यसम्पादन सम्झौता

काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र शिक्षण सिकाइ प्रक्रियालाई थप व्यावहारिक र प्रभावकारी बनाउन ‘स्रोत शिक्षक’ सँग कार्यसम्पादन करार सम्झौता गरेको छ।

सम्झौतापत्रमा विभागका प्रमुख नमराज ढकाल र स्रोत शिक्षकहरूले हस्ताक्षर गरेका छन्। ‘स्रोत शिक्षक व्यवस्थापन कार्यविधि, २०८०’ र शिक्षा तथा स्वास्थ्य समितिको यही साउन २२ गते गरेको निर्णयका आधारमा सम्झौता गरिएको हो।

स्रोत शिक्षकले आफ्नो कार्यक्षेत्रभित्रका विद्यालयको शिक्षण सिकाइ वातावरण सुधार गर्न मासिक तथा साप्ताहिक कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्नेछ।

विभागीय प्रमुख ढकालले महानगरको शैक्षिक नीति र कार्यक्रमहरूलाई विद्यालयस्तरमा प्रभावकारी रूपमा लागू गराउन सहजीकरण गर्ने, शिक्षकको पेसागत विकासमा सहयोग गर्ने र विद्यालयका समस्या समाधानका लागि समन्वय गर्ने दायित्व स्रोत शिक्षकलाई प्रदान गरिएको बताएका छन्।

प्रकाशित: २७ श्रावण २०८३ ०६:५१ बुधबार