समाज

सुपर सेती आयोजनाको पहुँचमार्ग खन्दा पहिरो खस्यो, दुई कामदारको मृत्यु, एक घाइते

<br>

कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग (एक्सेस रोड) खन्ने क्रममा पहिरो खस्दा गम्भीर घाइते भएका दुई कामदारको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा धनकुटाको पाख्रीबास नगरपालिका-८ घर भई आयोजनामा कार्यरत २६ वर्षीय आयुष राई र खोटाङको केपिलासगढी गाउँपालिका-१ का २७ वर्षीय किसान राई रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार दुवै जनाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

घटनामा परी इलाम घर भएका ३२ वर्षीय भक्तबहादुर मगर घाइते भएका हुन्। उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र घुँडामा चोट लागेको प्रहरीले जनाएको छ।

शिनबर बिहान करिब ११ बजे जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माणका लागि सडक खन्ने काम भइरहेका बेला माथिबाट अचानक पहिरो खसेको थियो। पहिरोमा परेका कामदारलाई घटनालगत्तै स्थानीयवासी र प्रहरीले उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्‍याएका थिए।

सुपर सेती जलविद्युत् आयोजना कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २४ मेगावाट क्षमताको आयोजना हो।

प्रकाशित: २० भाद्र २०८३ १५:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App