समाज

'कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित छ'

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताएका छन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतद्वारा सोमबार वीरेन्द्रनगरमा आयोजित ‘प्रदेश तथा स्थानीय तहमा बजार अनुगमन निरीक्षणमा संलग्न पदाधिकारी एवं कर्मचारीलाई खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी अभिमुखीकरण कार्यक्रम’मा सचिव कर्णले कर्णालीको माटो र यहाँ उत्पादन हुने खाद्यबाली अन्य प्रदेशभन्दा सुरक्षित रहेको बताएका छन्।

‘हाम्रो खाद्य स्वच्छ र गुणस्तर हुनुपर्छ । शरीरलाई चाहिने आवश्यक तत्व यहाँ उत्पादन हुने खाद्यबालीमा पाइन्छ’, उनले भने, ‘मूलतः कर्णाली प्रदेशले रासायनिक प्रयोगलाई निरुत्साहित गर्दै अर्गानिक उत्पादनमा जोड दिने अभियान अगाडि बढाएको छ ।’ अझै पनि खाद्य स्वच्छता तथा गुणस्तरका बारेमा सरोकार भएकाको समन्वय एवं सहकार्यमा स्वच्छ तथा गुणस्तर खाद्य प्रयोगबारे नागरिक तहसम्म सचेतना कार्यक्रम सञ्चालन गरिनुपर्नेमा उनले जोड दिए।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख सन्तोष दाहालले स्वच्छ तथा गुणस्तर खाद्य प्राप्तिका लागि सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन हुनुपर्ने बताए। खानाजन्य रोगका कारण मानव जीवनमा जोखिम बढ्दो भएकाले स्वच्छ र गुणस्तरयुक्त खाना आवश्यक भएको उनको भनाइ छ।  

उक्त कार्यक्रमका सहभागीहरूले अत्याधुनिक जीवनशैलीका कारण मानव स्वास्थ्य सर्नेभन्दा नसर्ने रोगले ग्रसित हुँदै गएकाले आलीदेखि थालीसम्म आउने वस्तु स्वच्छ र सुरक्षित हुनुपर्ने सुझाव दिएका छन्। सहभागीहरूले नागरिकको सोच, स्वाद र दृष्टिमा दोष एवं भ्रम भएकाले त्यसलाई चिर्नका लागि खाद्य उपभोगका बारेमा सचेतनामूलक कार्यक्रम आवश्यक भएको सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन्।

प्रकाशित: २४ चैत्र २०८२ ०८:२२ मंगलबार