सुनसरी कप्तानगन्जमा भएको घटना छानबिन गर्न बनेको समितिले प्रहरीले नै गोली चलाएको निचोड निकालेको छ। कप्तानगन्ज घटना छानबिन गर्न गठित गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापा नेतृत्वको समितिले गृह मन्त्रालयलाई मंगलबार बुझाएको प्रतिवेदनमा बाहिरी समूह वा घुसपैठ नभई प्रहरीले चलाएको गोली लागेको निचोड निकालेको उल्लेख छ।
घटनापछि विभिन्न बाहिरी समूह वा घुसपैठ भएको अनुमान गरिए पनि छानबिन समितिले सूक्ष्मढंगले सबै पक्षलाई भेटेर सोधपुछ गर्दा त्यस्तो नपाइएको जनाइएको छ।
साउन १० गते सुनसरी देवानगन्ज गाउँपालिका– ३ कप्तानगन्जमा दुईपक्षीय झडपलाई नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीले बाध्यात्मक ढंगले गोली चलाएको प्रतिवेदनमा समेटिएको छानबिन समितिका एक सदस्यले बताए।
उनका अनुसार घटना नियन्त्रण गर्न पुगेको प्रहरी टोलीको टाउँकै फुटेको र प्रहरीले बल प्रयोग नगर्दा प्रहरीसँगै अरू अल्पसंख्यक व्यक्तिको समूह पनि मर्ने स्थिति सिर्जना भएपछि गोली चलाएको प्रतिवेदनमा उल्लेख छ। ‘थप मानवीय क्षति हुन नदिन र प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको पाइयो’, छानबिन समितिका सदस्यले नागरिकसँग टेलिफोनमा भने।
कप्तानगन्जमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट गरी २० राउन्ड गोली चलेको पाइएको छ। दुवैले चलाएको गोलीबाट स्थानीय ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहताको मृत्यु भएको थियो। ओमप्रकाशको घटना भएकै राति साउन १० गते, जयप्रकाशको उपचारका क्रममा साउन १४ गते र रवीन्द्रको काठमाडौंमा उपचारका क्रममा साउन १९ गते मृत्यु भएको थियो। सो घटनामा घाइते भएकामध्ये तीनजना अझै उपचार गराइरहेका छन्। तीनजना भने अस्पतालबाट डिस्चार्ज भएका छन्।
कप्तानगन्जमा भएको झडप नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय देवानगन्जका प्रहरी निरीक्षक राकेश राई र प्रहरी चौकी कप्तानगन्जका असई प्रकाशकुमार श्रेष्ठ फिल्डमा खटिएका थिए।
छानबिन समितिका संयोजक थापाका अनुसार प्रतिवेदनमा २५बुँदे सुझावसहित आगामी दिनमा हुन नदिने उपायसहितको प्रतिवेदन गृह मन्त्रालयलाई बुझाएको हो। उनका अनुसार प्रतिवेदनमा घटना हुनुको कारण, आगामी दिनमा अपनाउनुपर्ने सावधानी र घटनामा संलग्नलाई कारबाही सिफारिस गरिएको छ। गृह मन्त्रालयका सूचना अधिकारी उपसचिव रमा आचार्य (सुवेदी) ले प्रतिवेदनमा उल्लेख भएका पक्षलाई अब अध्ययन गरेर कार्यान्वयन गरिने बताइन्।
कप्तानगन्ज घटना मुस्लिम समुदायको मोहर्रम मेलाका अवसरमा असार १४ गते बजारको बिच भागमा झन्डा गाडिएको थियो। त्यही स्थानमा साउनमा बोलबम परेकाले हिन्दु समुदायले झन्डा गाडेका थिए। यो विवाद वडाध्यक्ष र गाउँपालिका अध्यक्षसम्म पुगेको थियो। साउन १० गते भने बोलबम जान लागेका युवाले देवानगन्ज– ३ मा मन्दिरमा डिजे ठुलो आवाजमा बजाएको विषयलाई लिएर युवाको दुई समूहबिच झडप हुँदा घटना बढेर उग्ररूप लिएको थियो।
कप्तानगन्ज घटनाको विरोधमा सिरहामा पनि एकजनाको मृत्यु भएको थियो। सिरहामा पनि प्रहरीले चलाएको गोली लागेर गणेश यादवको मृत्यु भएको सो घटनामा छानबिन गर्न गठित समितिले अलगै प्रतिवेदन बुझाएको छ। सिरहा घटनाको छानबिन गर्न गृहका अर्का सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले छानबिन गरेको थियो।
प्रकाशित: ३ भाद्र २०८३ ०९:२१ बुधबार