समाज

नाइकेहरूले ज्यादती गरेको भन्दै कपिलवस्तु कारागारका कैदीबन्दी आन्दोलित

कपिलवस्तु कारागारको बी ब्लकमा नाइके समूहले आफूमाथि ज्यादती गरेको भन्दै कैदीबन्दीहरू आन्दोलित भएका छन् । कैदीहरूले कारागार नै कब्जामा लिएका छन् । कारागार प्रशासन र नाइके समूहले मनोमानी गरी आफूमाथि अन्याय गरेको भन्दै उनीहरूले बी ब्लकको मूल गेटमै ताला लगाएर कब्जामा लिएका हुन् ।

२ नम्बर ब्लकका मूल नाइके केयरसिंह खत्री, सहनाइके विजय खत्री र अर्जुन थारुलाई भित्रै थुनेर राखेका छन् । बी ब्लकका कैदीबन्दीका अनुसार दिउँसो करिब २ बजेदेखि उनीहरूलाई थुनेर राखिएको छ ।

शनिबार सामान्य कुरामा आफूमाथि नाइके समूहले कुटपिट गरेको, शासनपानीमा घपला गरेको विरोध गर्दा झन् ज्यादती गरेको कैदीबन्दीहरूको आरोप छ । कारागार प्रशासन स्रोतका अनुसार चौकीदार दामोदर थारुको समूहले कैदीबन्दी मोहम्मद हनिफ मुसलमान, सुजन बि.क., निरज कार्की तथा हबिबुर रहमानलाई निर्घात कुटपिट गरेका थिए ।

तर यस विषयमा कारागार प्रशासन मौन बसेपछि आफूहरू बाध्य भएर यो कदम चाल्नुपरेको उनीहरूको भनाइ छ । आन्दोलनरत कैदीबन्दीहरूले १८ बुँदे माग सम्बोधन हुनुपर्ने, उनीहरूलाई आन्तरिक कारागार प्रशासनबाट हटाउनुपर्ने र राज्यले दिँदै आएको सेवा–सुविधामा कटौती गर्न नपाइने लगायतका माग राखेका छन् ।

विवाद मिलाउन प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहसहितको टोली दिउँसो नै कारागार पुगेको थियो । आन्दोलनरत कैदीबन्दीहरूसँग छलफलका लागि बसेको टोलीसँग सोमबार साँझसम्म पनि वार्ता हुन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले बताए ।

उनले कैदीबन्दीहरूले राखेको मागका विषयमा आफूहरू वार्ता गर्न तयार भए पनि कैदीबन्दी नमानेको बताए । कैदीबन्दीहरूले मूल ढोकामा ताला लगाएर कारागारभित्रै बसेका छन् । घटनाका विषयमा प्रशासन कार्यालय र प्रहरीले स्पष्ट रूपमा केही जानकारी दिएको छैन ।

घटनामा कोही पनि घाइते नभएको बताइएको छ । कारागारमा साढे ३ सय बढी कैदीबन्दी छन् ।

प्रकाशित: १५ असार २०८३ १९:४१ सोमबार