समाज

कालीकोट पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कालीकोटलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। कालीकाेटका नौवटै स्थानीय तहले सबै बालबालिकाले पूर्ण खोप पाएको घोषणा गरे पश्चात् शनिबार कालीकोट जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनायुक्त जिल्ला घोषणा गरिएको हो।

'स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता' भन्ने नाराका साथ कालीकोटलाई पूर्ण खोपयुक्त जिल्ला घाेषणा गरिएको स्वास्थ्य सेवा कार्यालय कालीकाेटका डा. भीष्मराज पोख्रेलले जानकारी दिए।

'स्थानीय तहका स्वास्थ्य संस्थाको अगुवाइमा वर्षभरि अभियान सञ्चालन गरेर खोप पाएको सुनिश्चितता गर्यौं,' उनले भने, 'वैशाखदेखि गाउँ बस्तीमा स्वास्थ्यकर्मी खटाएर खोज र खोप अभियानमार्फत छुटेका सबैलाई खोप दियौं।' उनले १६ देखि ५९ महिनाका सबै बालबालिकाले १३ वटा खोप पाएको सुनिश्चिततापछि ९ वटै स्थानीय तहसहित जिल्लालाई खाेपयुक्त घाेषणा गर्न सफल भएको हाे।

जेठदेखि असार १५ गतेभित्र यहाँका महाबै, पचालझरना, नरहरिनाथ, सान्नी त्रिवेणी, रास्कोट, तिलागुफा, शुभकालिका, पलाता र खाँडाचक्रलाई औपचारिक रूपमा घोषणा गरेपछि असार २७ गते बसेको जिल्ला खोप समन्वय समितिको बैठकको निर्णयअनुसार असार २८ गते  कालीकोटलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ।

बालबालिकालाई दादुरा, टाइफाइड, पोलियो, पेन्टा, जापानीज इन्सेफलाटिस (जेई), रोटा, एफआईपीभी लगायतका १३ खोप दिइएकाे छ।

जिल्लामा खोप लगाइरहेका १५ महिनामुनिका बालबालिका तीन हजार ११ जनालाई घरधुरि सर्भेक्षण गरी राष्ट्रिय खोप तालिका अनुसार खोप लगाइरहेको सुनिश्चितता गरिएको हो। पूर्ण खोप प्राप्त गरेका १६ महिनादेखि ५९ महिनाका ५ हजार ८ सय ४४ जना बालबालिका रहेका छन्।

प्रकाशित: २९ असार २०८२ १०:२४ आइतबार

#Nagariknews