समाज

झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

झापा कारागारमा क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी रहेका छन्। छ दशक पुरानो भवन र साँघुरो कोठाका कारण कैदीबन्दी सकसमा बस्न बाध्य छन्।

कारागार प्रमुख पूर्णबहादुर खत्रीका अनुसार हाल कारागारमा कैदी र थुनुवा गरी कुल एक हजार ७१० जना रहेका छन्। तीमध्ये ९२९ जना कैदी र ७८१ जना थुनुवा छन्। लैङ्गिक आधारमा एक हजार ६२६ जना पुरुष र ८४ जना महिला छन्।

प्रमुख खत्रीले कारागारमा ६५ वर्षमाथिका २४ ज्येष्ठ नागरिक, एक गर्भवती र एक आश्रित नाबालक रहेको जानकारी दिए। महिला र पुरुषका लागि छुट्टाछुट्टै भवनको व्यवस्था छ। कारागारमा १९ जोडी विवाहित कैदीबन्दीसमेत छन्। राष्ट्रियताका आधारमा १२२ जना भारतीय र २९ जना भुटानी नागरिकले कैद तथा थुनुवा जीवन बिताइरहेका कारागार प्रशासनले जनाएको छ।

लागुऔषधका मुद्दा सबैभन्दा बढी

झापा कारागारमा रहेका कैदीबन्दीमध्ये करिब आधा हिस्सा लागुऔषधसम्बन्धी मुद्दाका छन्। कारागार प्रमुख खत्रीका अनुसार लागुऔषध कसुरमा ५६ महिला र ७९४ पुरुष गरी ८५० जना रहेका छन्।

त्यस्तै, जबर्जस्ती करणी मुद्दामा एक महिलासहित ३५९ जना, कर्तव्य ज्यान मुद्दामा नौ महिलासहित ११४ जना, चोरी मुद्दामा एक महिलासहित १३५ जना, ठगी मुद्दामा एक महिलासहित १६ जना र अभद्र व्यवहारसम्बन्धी मुद्दामा एक महिलासहित १३ जना कारागारमा छन्। बाँकी अन्य विभिन्न मुद्दाका कैदीबन्दी रहेका छन्।

कलबलगुढीमा नयाँ कारागारको तयारी

हालको कारागार भवन पुरानो र स्थान साँघुरो भएकाले भद्रपुर नगरपालिका–१० स्थित कलबलगुढीमा नयाँ कारागार बनाउने तयारी छ। कोशी प्रदेश प्रशिक्षण केन्द्रसँग जोडिएको १० बिघा जग्गा नयाँ कारागार निर्माणका लागि व्यवस्थापन गरिएको छ। नयाँ संरचना निर्माणका लागि विस्तृत परियोजना प्रस्ताव (डिपिआर) तयार गर्ने प्रक्रिया अघि बढिसकेको जनाइएको छ।

विसं २०२० मा निर्माण भएको हालको भवन सुरुमा बढीमा ३५० जना कैदीबन्दी राख्न मिल्नेगरी बनाइएको थियो। पछि आन्तरिक संरचना थपेर कारागारको क्षमता ७५० पुर्‍याइएको हो। रासस

प्रकाशित: ११ मंसिर २०८३ ०६:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App