समाज

वर्षापछि जलमग्न जलेश्वर

लामो समयपछि शुक्रबार भएको भारी वर्षाबाट महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर जलमग्न बनेको छ।

करिब डेढ घण्टासम्म लगातार परेको मुसलधारे पानीले सदरमुकाम जलेश्वरसहित वरपरको क्षेत्र जलमग्न बनेको हो।

वर्षाका कारण जलेश्वरका सडकमा एकदेखि तीन फिटसम्म पानी जम्दा सडक यातायात आवागमनसमेत प्रभावित बनेको छ।

जलेश्वरको सहरी क्षेत्रमा ढल निकासको उचित व्यवस्था नहुँदा बर्षाको पानीले नपाएपछि पानीसँगै फोहरमैलासमेत सडकभरि छरिएको छ। यसैबीच वर्षाकै कारण जलेश्वरको मुटु मानिएको महेन्द्रचौकस्थित हनुमान मन्दिर डुबानमा परेको छ।

जलेश्वर नगरपालिका–२ मै रहेको राजदेवी मन्दिर डुबानबाट प्रभावित भएको छ। त्यस मन्दिरमा पानी गर्भगृहभित्र पस्ने अवस्थामा छ।

प्रकाशित: २६ असार २०८३ १६:२७ शुक्रबार